जिन्दगीको के भरोसा ...

यो गीत डेढ दशकअगाडि निकै लोकप्रिय गीत हो । गायक कर्णदासले बिहीबार सुन्दरहरैंचामा आयोजित एक कार्यक्रममा उक्त गाउँदा दर्शकहरू निकै भावुक बने । त्यसैगरी मीरा राणाको ‘तिमीलाई रुवाउने मेरो धोको होइन’ गीतले पनि दर्शकहरूलाई थप भावुक बनायो ।

मोरङको सुन्दरहरैंचामा आयोजित नझरेका फूलहरू पलेटी साँझ कार्यक्रममा गायक कर्ण दास र गायिका मीरा राणाले विभिन्न गीत गाए । पलेटी साँझको १५ औं शृङ्खला अन्तर्गत कार्यक्रमको आयोजना गरिएको थियो । ‘साहित्य, कला र सङ्गीतको संरक्षण तथा सम्बद्र्धनका लागि स्रष्टा सम्मान’ भन्ने नाराका साथ कार्यक्रम गरिएको थियो । कार्यक्रममा गायक कर्ण दासले गीत गाउने पालो आउँदा साढे एघार भइसकेको थियो । मध्यरातको त्यो गर्मीमा उनका कालजयी गीतले शितल बनाएको थियो ।

डेढ दशकअघि गाएको उनका निकै चर्चित गीत ‘ठूला–ठूला महल होइन’ बाट गाउन शुरुवात गरेका थिए । सुनैको शिरबन्दी, पुरानो डुङ्गा, यो प्रेमको बलिदान कसरी भुल्न सक्छु, बोलका गीतबाट दर्शकहरूले साङ्गीतिक मनोरञ्जन लिएका थिए ।

कार्यक्रममा वरिष्ठ गायिका तथा सङ्गीतकार मीरा राणाले ‘मखमली चोली चाहिँदैन’, बोलको गीत गाएर महिला दर्शकहरूलाई नचाएकी थिइन् । त्यसैगरी ‘तिमीलाई रुवाउने मेरो धोको होइन’ गाउँदा दर्शकहरू भावुक बनेका थिए । कार्यक्रममा सुनिता लिम्बूले ‘दिन रात सानु तिम्रै सम्झना’ गीत गाएर दर्शकलाई नचाएकी थिइन् । त्यसैगरी नवोदित गायक टङ्क मगरले शान्तिराम राई र उदय सोताङको गीत गाएका थिए । पलेटी साँझमा लेखक तथा कवि अमृतप्रसाद आचार्य र बादलदेवी चाम्लिङले आफ्ना साहित्यिक रचना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्रष्टाहरूलाई सम्मान र प्रशंसा–पत्रले सुशोभित पनि गरिएको थियो । कार्यक्रममा सुन्दरहरैंचाका मेयर शिव ढकाललगायत स्थानीय सर्जकहरूको उपस्थिति रहेको थियो । पलेटी साँझ कार्यक्रमको विशेष सहयोगी सुन्दरहरैंचा नगरपालिका रहेको थियो ।