बिर्तामोड । क्यानाडा लगायत युरोपियन देश पठाइदिन्छु भन्दै आठसय भन्दा बढी युवालाई ठगी गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीका रामबहादुर खड्का छन् । खड्कालाई इलाका प्रहरी कार्यालय अनारमनी र प्रदेश नम्बर एकको प्रहरी टोलीले काँकडभिट्टाबाट पक्राउ गरेको हो ।

खड्काले ठगी गर्नका लागि बिभिन्न नाममा पाँचवटा फेसबुक आइडी बनाएको पाइएको अनुसंधानमा गरिरहेका इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मोहन थापाले जानकारी दिए । महेशजंग थापा, विश्वजित थापा, आरभ थापा, उज्वल थापा र प्रवीण थापाको नाममा फेसबुक एकाउण्ट खोलेर साथी बनाउँदै खड्काले ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । खड्काले ठगी गर्ने योजनाका साथ सन २०२१ मा नै पाँचवटा फेसबुक एकाउण्ट खोलेको पाइएको डिएसपी थापाले बताए ।

खड्काले ती आईडीमा एनआरएन क्यानाडाका विभिन्न गतिविधि पोस्ट गर्थे । डीएसपी थापाका अनुसार खड्काले अधिकांश स्टाटस तथा फोटोहरु क्यानाडा, विभिन्न युरोपियन तथा अमेरिकी मुलुकहरुमा भ्रमण गरेको भान पार्ने गरी पोस्ट गर्दै आएका थिए ।

उनले फेसबुकको म्यासेन्जरबाट विभिन्न जिल्लाका मानिसहरु (विशेषगरी खाडी मुलुकमा रोजगारीको लागि गएका पुरुष व्यक्तिहरु) सँग साथी बनाउने र मित्रता गर्ने गरेको पाइएको छ । त्यसपछि उनी आफू विगत १४ वर्षदेखि अध्ययनको लागि क्यानडा गएको र उतै बिहे गरी पीआरसमेत प्राप्त गरेको भन्दै बिश्वासमा लिने गरेको खुलेको छ ।

डीएसपी थापाका अनुसार क्यानडामा आफ्नै लगानीमा चारवटा क्याफे सञ्चालन गरिराखेको र कैयौं नेपालीहरुलाई रोजगारी दिएको तथा गैरआवासीय नेपाली संघ, क्यानडाको उच्च पदस्थ अधिकारीसमेत भएको उनले बताउने गरेका थिए । यस्तो परिचय दिएपछि सहजै अरुको विश्वास आफूमाथि हुने उनको बुझाइ थियो । विदेशमा भएका नेपालीमार्फत् नेपालमा भएका युवासँग पनि उनले मित्रता अगाढी बढाउँदै आएका थिए ।

त्यसपछि उनी आफ्नो बाबु बिरामी परेकोले उपचारको लागि बाबुलाई क्यानडा नै लैजानको निम्ति नेपाल आएको र हाल भारतको सिलिगुडीमा बाबुको उपचार गराइरहेको नेपाली युवालाई बताउँथे । त्यहीबीचमा उनले बाबुलाई क्यानडा लैजाँदा ‘स्पोन्सर्ड’ भिसामा अरुलाई पनि क्यानडा लैजान सकिने बताए ।

त्यसक्रममा उनले दूतावासमा चार लाख खर्च हुनेमा दुइ लाख आफू नै सहयोग गरिदिने र सो रकम पछि क्यानडामै पुगेर काम गरी तिर्दा हुने भनी विश्वास दिलाएको अनुसन्धानका क्रममा खुलेको डिएसपी थापाले बताए ।

दुइलाख रुपैंयाँमात्र दिदा हुने भएपछि सयौं युवा क्यानाडा जान तयार भएका थिए । खड्काले पीडित व्यक्तिहरुलाई दिल्लीस्थित क्यानाडा दूतावासमा अन्तरवार्ताका लागि भारत सिलगुडीको बाघडोगरा बिमानस्थलबाटट दिल्ली जानुपर्छ भन्दै सबैलाई तयार गरे ।

झापाको दमक, बिर्तामोड, धुलाबारी, काँकरभिट्टा र भारतको पानीटंकीसम्म बोलाएर दूतावासमा अन्तरवार्ताका लागि चिटिक्क हुनुपर्छ भनेर सिकाए । त्यही क्रममा सबैलाई कपाल काट्न लगाउँदै आफूचाहिँ पीडितहरुसँग भएको पैसा मागी भारु साटेर आउँछु भन्दै निस्किए । त्यसपछि उनले आफ्नो आईडीबाट सबैलाई ब्लक गर्दै मोबाइल अफ गरेर फरार भएका थिए ।

डीएसपी थापाका अनुसार खड्काले सन् २०१२ देखि हालसम्म आठ सयभन्दा बढी व्यक्तिहरुलाई ठगी गरेको पाइएको बताए । खड्काविरुद्ध ईलाका प्रहरी कार्यालय अनारमनी, दमक, धुलाबारी र काँकरभिट्टामा उजुरी दिनेहरुको संख्या एक सयौंको छ ।

पक्राउ परेका खड्काले पीडित व्यक्तिहरुको डकुमेन्ट र फोटो दुरुपयोग गरी सिमकार्ड खरिद गरी चलाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ । प्रहरीका अनुसार खड्काले पीडित व्यक्तिहरुलाई क्यानाडामा रहेका आफ्ना बालबच्चाहरुको लागि गाउँको शुद्ध मह, घिउसमेत ल्याइदिन लगाउने गरेको पाइएको छ ।