भद्रपुर । इलाका प्रहरी कार्यालय धुलाबारी हिरासतबाट आरोपित थुनुवा भागेपछि प्रहरीले छानबिन गर्न छुट्टाछुट्टै समिति गठन गरेको छ ।

दुई दिनअघि हिरासतबाटै चोरी आरोपमा पक्राउ परेका पश्चिम बङ्गाल दार्जीलिङका २६ वर्षीय गणेश कामती र २९ वर्षीय कृष्ण मण्डल भागेका थिए । घटनापछि प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगर र झापाले छुट्टा–छुट्टै छानबिन समिति गठन गरेको हो । प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी रमेश बस्नेतको नेतृत्वमा तीन सदस्य र झापाले डिएसपी तथा प्रवक्ता महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन भएको छ छ ।

समितिले छानबिन शुरु गरिसकेको छ । समितिले इप्रका धुलाबारीका इन्स्पेक्टर टीकाबहादुर कार्कीसहित ८ जना प्रहरी कर्मचारीमाथि छानबिन शुरु गरेको छ । घटनामा दोषी भए विभागीय कारबाहीमा पर्नेछन् । केहीदिनअघि पनि लागूऔषधसहित पक्राउ परेका इलामका २४ वर्षीय शङ्कर गजमेर पनि फरार भएका थिए ।

उनी मेडिकल गर्ने क्रममा अस्पताल परिसरबाटै फरार भएका थिए । उनी इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडको हिरासतमा थिए । २०७४ साउन २७ गते कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका गौरादह नगरपालिका–८ का २४ वर्षीय उमेश माझी पनि कारागारको पर्खाल नाघेर फरार भएका थिए ।