भण्टाबारी/ सुनसरीको हरिनगर गाउँपालिका–३ स्थित गौतमपुरकी १४ वर्षीया बालिका बलात्कार भएको एक महिना बितिसक्दा पनि आरोपीहरूलाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ।
गत असार ३१ गते हरिनगर गाउँपालिका–३ स्थित गौतमपुर नजिकैको केराबारीमा हरिनगर गाउँपालिका २ बस्ने १४ वर्षीया बालिका बलात्कृत बनेकी थिइन् । उनलाई हरिनगर गाउँपालिका वार्ड नम्बर ३ का २१ वर्षीय समीम अन्सारी र वार्ड नम्बर ६ का दिलशाद अन्सारीले बलात्कार गरेको आरोप लागेको छ । घटनापछि ती दुवैजना आरोपी भारतको बसमतियामा बस्दै आएको स्रोतले जनाएको छ । दिनभर भारतको बसमतिया बजारमा बसेर रातको समयमा घरसमेत आउने गरेको स्रोत बताउँछ ।
तर, प्रहरीले पक्राउमा चासो नदिँदा पीडितहरू थप पीडामा परेका छन् । उनीहरू खुलेआम रूपमा दिनमा सीमावर्ती क्षेत्रमा बस्दै आए पनि प्रहरीले पक्राउ गर्न चासो नदेखाएको पीडित परिवारको गुनासो छ । उनीहरू लाई पक्राउ गरेर आफूहरू लाई न्याय दिलाउन पीडित परिवारले सुनसरी प्रहरीलाई यसअघि नै उजुरी दिइसकेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले असार ३१ गते १४ वर्षीया बालिकालाई झुक्याएर नजिकैको केराबारीमा लगेर अन्सरीद्वयले बलात्कार गरेका थिए । उनीहरूमाथि प्रहरीमा निवेदन दर्ता भइसकेको छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा मुद्दा दर्ता गरी बलात्कार मुद्दाका आरोपीति दुईजनाको खोजतलास जारी रहेको सुनसरी प्रहरीले बताउँदै आएको छ । पैसा दिएर बलात्कार घटना मिलाउने प्रयत्न गरिए पनि पीडित परिवार नमानेको स्रोत बताउँछ । पीडित परिवार बलात्कार गर्नेलाई कानून बमोजिम दण्डित गराउने पक्षमा देखिएका छन् ।
घटना भएलगत्तै पीडित पक्षले कारबाहीको माग गर्दै जाहेरी दिएका थिए । मुद्दा दर्ता गरी घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय सुनसरीले छानबिन जारी राखेको बताए पनि घटना भएको २७ दिन बितिसक्दा समेत आरोपी पक्राउ गर्न सकेको छैन । घटनाको बारेमा केही व्यक्तिलाई मात्र जानकारी गराई दुवै पक्षलाई मिलाउने चलखेल अझै जारी नै रहेको स्थानीय बताउँछन् । पीडित पक्ष न्याय पाउनुपर्ने पक्षमा अडिग देखिए पनि हरिनगर क्षेत्रका केही जनप्रतिनिधि र स्थानीय राजनीतिक दलका अगुवाहरूले पीडित पक्षलाई मोटो रकम दिएर मुद्दा मिलाउन प्रभावमा पार्न खोजेको स्रोत बताउँछ ।
यता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा डिएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले मुद्दा दर्ता भए पनि आरोपी फरार रहेकाले खोजतलास जारी रहेको बताए । आरोपी भारततिर लुकेर बस्दै आएको बुझिए पनि हालसम्म पक्राउ पर्न नसकेको उनले बताए । भारतबाट उनीहरू आएको बारेमा खबर नआएको बताउँदै डिएसपी फुयाँलले पुलिसलाई खबर नगर्ने र अरूतिर गरेर हुन्छ ? भन्दै प्रतिप्रश्न गरे । भारतबाट घर आएका भए प्रहरीलाई खबर गर्न उनले आग्रह गरे ।
एकमहिना पुग्न लाग्दासमेत आरोपी पक्राउ पर्न नसकेको बारेमा जिज्ञासा राख्दा डिएसपी फुयाँलले भने, ‘जिल्ला प्रहरी कार्यालयमा धेरै मुद्दा हुन्छन्, त्यसैमा मात्र केन्द्रित हुने अवस्था छैन । प्रहरी परिचालन गरेर आरोपीलाई पक्राउ गर्ने प्रयत्न जारी छ ।’ भारतमा बसेको हो भने उत्ताबाट पक्राउ गरेर ल्याउन सजिलो नभएको डिएसपी फुयाँल बताउँछन् । उनले भने, ‘देखे पनि हामीले पक्रेर ल्याउने अधिकार छैन, सुपुर्दगी सम्बन्धी नियम छैन । भारतीय प्रहरीलाई पक्रेर जिम्मा देऊ भन्दा दिँदैनन् ।’