इटहरी/ पछिल्लो समय इटहरीमा विभिन्न बहाना बनाई ठगी गर्नेको सङ्ख्या वृद्धि भएको छ । इलाका प्रहरी कार्यालय इटहरीको तथ्याङ्कअनुसार पछिल्लो एक वर्षमा साना–ठूला गरी हजारभन्दा बढी ठगीको उजुरी परेको छ ।
वैदेशिक रोजगारीका लागि राम्रो देशमा पठाइदिने प्रलोभन देखाई इटहरीमा धेरै ठगिने गरेका छन् । इटहरी छिट्टै कमाउने दाउदेखि अपराध गरेर लुक्ने ठाउँसमेत बन्दै गएको छ । धेरैजसो सर्वसाधारणहरू जग्गा कारोबारमै ठगिएका छन् ।
जग्गामा ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । चलनचल्तीको भाउभन्दा बढी रकममा जग्गा खरिद गर्ने विश्वासमा पारी चेक दिएर आफ्नो नाममा जग्गा दर्ता गरी ठगी गरेको आरोपमा इटहरीका चन्द्रकान्त काफ्ले र भगवती दाहाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी ज्ञानेन्द्र फुयालले बताए ।
इटहरी–९ का ४३ वर्षीय वसन्त भन्ने चन्द्रकान्त काफ्ले र इटहरी–५ का ३७ वर्षीया भगवती दाहालले आफ्नो जग्गा ठगी गरेको भन्दै इटहरी–४ का ४० वर्षीया देवका सिटौलाले प्रहरीमा निवेदन दिएका थिए । सिटौलाका अनुसार इटहरी २ (झ) स्थित उनको नाममा दर्ता रहेको कि.नं.४९६३ को १५ धुर जग्गा ९० लाखमा खरिद गर्ने विश्वास दिलाएर चेक दिई जग्गा आफ्नो नाममा दर्ता गराएका थिए ।
खातामा नगद मौज्दात नभएपछि दुवैले सिटौलालाई ठगी गरेको खुलेको थियो । प्रहरीका अनुसार अनुसन्धानको क्रममा २०७३ जेठमा सिटौलाको नाममा रहेको जग्गा लोकबहादुर भण्डारी र कमला कार्कीको नाममा धितोपास भएको खुलेको थियो ।
काफ्लेले १५ धुर जग्गाको चलनचल्तीको मोलभन्दा बढी रकम ९० लाखमा खरिद गर्ने भनेर आफ्नो नाममा राष्ट्रिय वाणिज्य बैङ्क इटहरीको चेक दिएका थिए । उक्त जग्गा काफ्लेको सम्पर्कमा रहेका बेलबारी–४ का ४६ वर्षीय खडानन्द दुलाल हुँदै इटहरी–५ की भगवती दाहालको नाममा पास भएको खुलेको थियो ।
पछिल्लो समयमा जग्गा–जमिनमा ठगी गर्नेहरूको सङ्ख्या बढ्दै गएकोले सचेत रहन प्रहरीले सर्वसाधारणलाई आग्रहसमेत गरेको छ । इटहरी तथा आसपासका क्षेत्रमा जग्गाको कारोबारमा ठगी गर्नेहरू बढेको प्रहरी तथ्याङ्कले देखाउँछ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समिरचन्द्र खरेलले इटहरीमा आर्थिक कारोबारको बढोत्तरीसँगै आर्थिक विचलनको मुद्दासमेत ह्वात्तै बढेको बताए ।
पछिल्लो समयमा बाउन्स चेकको मुद्दासमेत दर्जनौं परेको डिएसपी खरेलको भनाइ छ । ‘पछिल्लो केही महिनाको अवस्था हेर्दा ठगहरूको बिगबिगी देखिन्छ’ –डिएसपी खरेलले भने । विभिन्न बहानामा ठगी गर्नेको सङ्ख्या बढेको उनले बताए । विभिन्न ठाउँमा ठगी गरेर इटहरीलाई बासस्थान बनाएको उनको बुझाइ छ ।
कलाकार तथा निर्मात्री प्रज्ञा जोशीसमेत केही महिनाअघि ५० लाख रुपैयाँ ठगेको आरोपमा इटहरीबाट पक्राउ परिन् । उनी ५० लाख ठगी गरेर विगत लामो समयदेखि विभिन्न ठाउँमा लुक्दै आएकी थिइन् । इटहरीमा लुकिछिपी बस्दै गरेको अवस्थामा जोशीलाई प्रहरीले पक्राउ गरेको थियो । महानगरीय प्रहरीपरिसर काठमाडौंमा दिएको उजुरीको आधारमा जोशीलाई इटहरीमा प्रहरीले पक्राउ गरेको थियो । प्रज्ञा जोशीका विरुद्ध सुवर्णकुमारी श्रेष्ठले महानगरीय अपराध अनुसन्धान महाशाखामा उजुरी दिएकी थिइन् ।