भद्रपुर । मानव बेचबिखन तथा ओसार–पसार मुद्दाका फरार प्रतिवादी ९ वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ पक्राउ गरिएको सो कार्यालयले जनाएको छ । प्रहरीले मेचीनगरपालिका–४ का ६४ वर्षीय इन्द्रप्रसाद अधिकारीलाई पक्राउ गरिएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
जिल्ला अदालत झापाले २०६७ असार १४ गतेको फैसलाअनुसार ९ वर्ष कैद र ५ लाख ३० हजार जरिवाना तोकेको थियो । अधिकारीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
त्यस्तै लागूऔषधसहित बाबुछोरालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी र इलाका प्रहरी सुरुङ्गाको संयुक्त टोलीले बिहीबार साँझ कन्काई–२ जामुन खाडीका ६७ वर्षीय उदयनारायण गिरी र उनका छोरा ४० वर्षीय रत्नबहादुर गिरीलाई पक्राउ गरेको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जनाए ।
गिरीको घरमा लागूऔषध लुकाएर राखेको सूचनाको आधारमा गएको टोलीले चेकजाँच गर्दा दराजमा राखिएको १३ दशमलव ८० ग्राम अफिम फेला पारेको डिएसपी श्रेष्ठले बताए । अफिमसहित बाबुछोरालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको उनले जनाए ।