विराटनगर । विराटनगरका एक व्यापारीको हत्या गर्ने योजना बनाएर आएका भारतीय सार्पसुटर कुनालकुमार सिंहसहित पाँचजना विरूद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ । मोरङ प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत् शुक्रबार मोरङ अदालतमा मुद्दा दर्ता गरेको हो ।
प्रहरी नियन्त्रणमा रहेका सार्पसुटर भारत सीतामढी थाना बैरगानिया ग्राम पञ्चायतका १९ वर्षीय कुनालकुमार सिंह, विराटनगर–८ धरमबाध रोडका ३१ वर्षीय मन्नुकुमार गुप्ता, सर्लाही गोडैता नगरपालिकाका ५० वर्षीय हरिनारायण झालाई ‘सङ्गठित रूपमा हातहतियार खरखजानासहित आपराधिक षड्यन्त्र उद्योग’ मा मुद्दा दर्ता गरेको छ । त्यस्तै फरार रहेका कटहरी गापा–५ का ४३ वर्षीय मन्नुकुमार साह रौनियार र महोत्तरी जलेश्वर नगरपालिका–४ का २५ वर्षीय टिङ्कुकुमार झालाई फरार प्रतिवादी बनाएर सोही मुद्दा अदालतमा दर्ता गरिएको छ ।
मुद्दा दर्ता भएपछि शुक्रबार नै प्रतिवादीहरूमध्ये सिंहको मोरङ अदालतको ४ नम्बर इजलासमा बयान शुरु भएको छ । पहिलो दिन सार्पसुटर सिंहको मात्र बयान भएको छ । अन्यको बयान भोलि (आइतबार) हुने अदालतले जनाएको छ । आइतबार प्रतिवादीको बयान सकिए सोही दिन थुनछेक बहस हुने अदालतका श्रेस्तेदार ईश्वरमणि ओझाले जानकारी दिए । थुनछेक बहसपछि न्यायाधीश कृष्णमुरारी शिवाकोटीले आदेश दिनेछन् ।
पक्राउ परेका मुख्य अभियुक्त गुप्ताले पाँच लाखको सुपाडी दिएर विराटनगरमा खाद्यान्यको कारोबार गर्ने व्यापारी जितु भनिने जितेन्द्र रायलाई हत्या गर्न सार्पसुटर ल्याएको प्रहरीले गरेको अनुसन्धानबाट खुलेको थियो । प्रहरीले सिंहलाई २७ जेठमा २ थान पेस्तोल र त्यसमा लाग्ने ७ राउण्ड गोलीसहित विराटनगरस्थित एक होटलबाट पक्राउ गरेपछि यस्तो रहस्य खुलेको थियो । लेनदेन र रिसइबी साध्न गुप्ताले व्यापारी रायको हत्या गर्न सार्पसुटर प्रयोग गरेका थिए । पक्राउ परेका गुप्ता केही सयमअगाडि जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरेका अभियुक्त हुन् भने झा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरेका अभियुक्त हुन् । गुप्ता र व्यापारी रायको कारागारमा चिनजान भएको थियो । रिसइबी साध्न गुप्ताले व्यापारी रायको हत्या गर्ने झालाई सुनाएपछि उनले भारतबाट सार्पसुटर झिकाएको अभियोगपत्रमा उल्लेख छ ।