भण्टाबारी/ सशस्त्र प्रहरीले अढाई करोड बराबरको समान बरामद गरेको छ । एकवर्षको अवधिमा बिओपी भण्टाबारी, बिओपी श्रीपुर र बिओपी लौकहीले २ करोड ५२ लाख २५ हजार २ सय २५ रुपैयाँ बराबरको समान बरामद गरी सुनसरी भन्सार कार्यालय सेतुबन्द कोशी ब्यारेजमा बुझाएको छ । आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म विभिन्न अवैध समान बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो ।
सीमावर्ती क्षेत्रमा तस्करी बढेपछि निगरानी बढाएकोले गतवर्षको तुलनामा उल्लेख्य मात्रामा सामान बरामद गरिएको बिओपी भण्टाबारीका इन्स्पेक्टर सुरेन्द्र भण्डारीले बताए । आर्थिक वर्ष २०७४/०७५ मा बिओपी भण्टाबारीले जम्मा २७ लाख ७३ हजार १ सय ५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेकोमा आर्थिक वर्ष २०७५/०७६ मा एक वर्षको कार्यकालमा १ करोड ६९ लाख ७५ हजार ७ सय ६२ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको भण्डारीले बताए ।
अवैधरूपमा ल्याउने विभिन्न सामानका साथै हातहतियार, लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको उनले बताए । नेपालबाट बेचबिखन गर्ने उद्देश्यले लैजाने गर्दा सीमावर्ती क्षेत्रबाट १५ जनाको उद्धार गरी आवश्यक कारबाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाएको इन्स्पेक्टर भण्डारीले बताए ।
यसैगरी बिओपी श्रीपुरले एकवर्षको अवधिमा ४१ लाख ५४ हजार ३५ रुपैयाँ बराबरको सामान बरामद गरी भन्सार बुझाएको जनाएको छ । बिओपी श्रीपुरका इन्स्पेक्टर निरन थापाका अनुसार विभिन्न लत्ताकपडा र किराना सामानसहित उक्त मूल्य बराबरको सामान बरामद गरिएको हो ।
बिओपी श्रीपुरले २ जना भारतीयलाई हतियारसहित पक्राउ गरेको उनले बताए । यसैगरी बिओपी लौकहीले एकवर्षको अवधिमा ४० लाख ९५ हजार ४ सय २८ रुपैयाँ बराबरको समान बरामद गरेको जनाएको छ । बिओपी लौकहीका इन्स्पेक्टर आनबहादुर गुरुङले लत्ताकपडा, किराना सामान, मरिचसहितका अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको बताए ।
भारतसँग सीमा जोडिएको क्षेत्रमा लागूऔषध मुख्य चुनौती रूपमा देखिएको गुरुङले बताए । खुला सिमाना र पर्याप्त जनशक्ति नहुँदा पूर्ण रूपमा सीमा क्षेत्रमा चोरीपैठारी नियन्त्रण गर्न कठिन रहेको उनले बताए ।