विराटनगर । मोरङको रङ्गेली नगरपालिकास्थित सुस्त मनिस्थितिकी १६ वर्षीय किशोरीमाथि सामूहिक बलत्कारको घटनालाई पीडित पक्षलाई दबाव दिएर मिलापत्र गराउने गाउँका १० जना अगुवालाई प्रहरीले पक्राउ गर्न सकेका छैन ।

सामूहिक बलत्कार जस्तो जघन्य प्रकृतिका घटनालाई पीडित पक्षलाई दबाव दिएर गाउँमै मिलापत्र गराएको घटना सार्वजानिक भएको दुई साता वितिसक्दा पनि मिलापत्र गराउने आरोपीहरू पक्राउ हुन नसकेको हो ।

पीडित पक्षलाई मिलापत्र गर्न दबाव दिएको आरोपमा रामबहादुर राजवंशी, निमलाल राजवंशी, शेखर गौतम, चित्रासेन राजवंशी, अभिनव बजगाई, गणेशप्रसाद दाहाल, दिलिप मुर्मु, रेवतबहादुर काफ्ले, सुवास राजवंशी र चेतबहादुर मगर फरार छन् ।

पीडक पक्षको तर्फबाट पीडितलाई दबाव दिएर मिलापत्र गराउनेहरू गाउँका अगुवा हुन् । उनीहरू अहिले फरार छन् । बलत्कार घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जना अभियुक्तहरूलाई अदालतमा मुद्दा दर्ता गरेपछि घटनालाई मिलापत्र गराउने भूमिका खेल्नेहरू सोझै जिल्ला अदालतमा उपस्थिीति हुने तयारी गरेको स्रोतको दाबी छ ।

प्रहरीले भने मिलापत्र गराउनेहरूको खोजी कार्य गर्दै आएको बताएको छ । उनीहरूको नाममा अदालतबाट पक्राउ पुर्जी पनि जारी भइसकेकोले प्रहरीले खोजी गर्दै आएको प्रहरीको भनाई छ । पीडित परिवारलाई विभिन्न प्रलोभन र डरधम्की दिँदै घटनालाई मिलापत्रमा टुंग्याउन भूमिका खेल्ने हाल फरार भएका गाउँका १० अगुवालाई मतियार र सामूहिक बलत्कारमा संलगन ३ गरि १३ जना जना विरुद्ध इलका प्रहरी कार्यालय रङ्गेलीले अभियोग दर्ता गर्ने तयारी गरेको छ ।

इप्रका रङगेलीका प्रमुख इनिस्पेक्टर लेखनाथ दाहालले घटनामा मिलापत्र गराउनेहरूको पनि खोजी कार्य गर्दै आएको बताए । ‘बलत्कारमा संलग्न २ जनलाई पक्राउ परिसकेका छन्ं,’ उनले भने, ‘फरार भएका एक र मिलापत्रमा भूमिका खेल्नेहरूलाई पनि हामीले खोजी गर्दै आएका छौं ।’

बलत्कार घटनमा संलग्न रङ्गेली –९ सखुवाथानका २५ वर्षीय रोमन मगर र २४ वर्षीय प्रिन्स अधिकारीलाई यस अघि पक्राउ गरि अदालतमा जवरजस्ती करणीमा म्यात थप गरि प्रहरीले अनुसन्धान गर्दै आएको छ । घटनामा संलग्न २३ वर्षीय सुनील चौधरी फरार छन् । उनीहरूले २० असारको साँझ गाउँकी अशक्त किशोरीलाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । घरमा एक्लै भएको मौका छोपेर उनीहरूले किशोरीलाई अपहरण गरी नजिकै रहेको धान कुट्ने मिलमा लगेर सामूहिक बलात्कार गरेको किशोरीका आफन्तले बताएका छन् ।

घटना सार्वजनिक भएपछि २६ असारमा गाउँमा स्थानीय अगुवाको भेला भएको थियो । त्यो भेलामा किशोरीका आफन्तलाई डेढ लाख रुपैयाँ क्षतिपूर्ति दिने उधारो कागजमा सहीछाप गराएर कतै उजुरबाजुर नगर्न दबाब दिइएको थियो । अपराधमा संलग्न तीनैजनाले ६ साउनभित्र जनही ५०–५० हजार रुपैयाँ पीडित परिवारलाई दिने र प्रहरीमा कुनै उजुरबाजुर नगर्ने कागजमा सहीछाप गराइएको थियो । पीडक पक्षले पीडित किशोरीका अभिभावकलाई क्षतिपूर्तिबापत एक लाख ५० हजार रुपैयाँ दिने सर्तमा मिलापत्र गरेपछि घटना सार्वजनिक भएको हो ।