मधुमल्ला । मोरङको मिक्लाजुङ–६ कालीदह घर भई मिक्लाजुङ–९ मा डेरामा बस्दै आएका १९ वर्षीय अनिष कार्की साउन ५ गते मध्यरातमा साथीहरूसँग निस्किएका थिए । सोमबारसम्म पनि घरमा नआएपछि कार्कीको बारेमा पत्नी रञ्जिला श्रेष्ठले सोधीखोजी गरिन् ।

त्यसपछि साथीहरूले काठमाडौं गएको प्रतिक्रिया दिए । घरमा केही नभनी मध्यरातमा निस्केका पति घर नफर्किएपछि रञ्जिला चिन्तित बनिन् । गत फागुनमा मात्र उनीहरूले प्रेम विवाह गरेका थिए । कार्की बेपत्ता भएको चार दिनपछि मोरङकोे बक्राहा र नुनसरी खोलाको बगरमा निर्वस्त्र अवस्थामा शव भेटियो । मृतक कार्की उनका साथी सन्दीप नेपाली र विशाल ऋषिदेवको साथमा राति घरबाट निस्किएका थिए । उनीसँगै गएका सन्दीप नेपालीलाई सोध्दा काठमाडौं गएको भन्दै ढाँटेर आफ्नो मोबाइलसमेत लगेर गएको पत्नीले बताइन् ।

खोलाको बगरमा शव भेटिएपछि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रामप्रसाद तिम्सिनाले बताए । प्रहरीले ३ जनालाई पक्राउ गरेको स्रोतले जनायो । उता मृतकका बुबा देवबहादुर कार्कीले भने आफ्नो छोरा खोलाले बगाएर नभई कसैले हत्या गरी खोलामा फालेको हुन सक्ने बताए । उनले भने, ‘खोलाले बगाएर मरेको भए कानभित्र र जिउमा समेत हिलो, लेदो र बालुवा हुनुपर्नेमा त्यस्तो केही छैन, त्यसैले हत्या हुनसक्छ ।’

मङ्गलबारे अस्पतालमा तनाव
पोष्टमार्टमको सम्पूर्ण प्रक्रिया पुर्याए पनि शवको पोष्टमार्टम गर्न नसक्ने बताएपछि उर्लाबारी–३ को मङ्गलबारे अस्पताल शुक्रबार दिनभर तनावग्रस्त बन्यो । मृतकका आफन्त तथा शव अन्त्येष्ठीका लागि आएका मलामीले अस्पतालको चरम लापरबाही गरेको भन्दै आक्रोस पोखे । डाक्टरले शवमा केमिकल लगाएर चिरफार गर्ने भन्दै भित्र पसेको र त्यसको केहीछिनमै यहाँ हुँदैन, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लानू भन्दै पन्छिएको मृतकका काका मानबहादुर कार्की बताउँछन् ।

त्यसपछि ठूलो सङ्ख्यामा रहेका आफन्त तथा मलामीहरूको आक्रोसित भीड रोक्न प्रहरीलाई समेत हम्मे–हम्मे परेको थियो । आक्रोस बढ्न थालेपछि उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्य, मङ्गलबारे अस्पतालका अध्यक्ष भानुभक्त शर्मा पराजुली, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिना, मृतकका आफन्तलगायत बसेर छलफल भयो ।

त्यसपछि घटनाको निष्पक्षरूपमा छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्ने प्रतिबद्धता आएपछि आफन्तजन शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजान राजी भएका थिए । हाल शव पोष्टमार्टमका लागि धरान लगिएको छ ।

चिता बन्यो, शव जलेन
बेपत्ता भएको चार दिनपछि बुधबार भेटिएको शव तीनदिन अघिदेखि मङ्गलबारे अस्पतालमा थियो । आफन्त आउन ढिलाइ भएपछि शव पोष्टमार्टम नगरी फ्रिजमा राखिएको थियो । शुक्रबार पोष्टमार्टम गर्ने तयारी गरिएको थियो । तर, मङ्गलबारे अस्पतालले पोष्टमार्टम गर्न नसक्ने बताएपछि पोष्टमार्टम गरी अन्त्येष्ठी गर्ने काम रोकियो । मृतककी आमासहित मलामीहरू उर्लाबारीको बक्राहा घाटमा पुगे । तर, शव पोष्टमार्टम हुन नसकेपछि बनाइसकेको चिता पनि त्यसै छोडेर मलामी तथा आफन्तहरू फर्किए ।

उर्लाबारीमा विशेषज्ञ डाक्टर छैनन्
उर्लाबारीको मङ्गलबारे अस्पतालमा पूर्वी मोरङ, दक्षिणी झापा र उत्तरी इलामका शव पोष्टमार्टमका लागि ल्याइने गरेको छ । तर, यहाँ विशेषज्ञ डाक्टर नै नहुने गरेको पाइएको छ । अस्पतालकी डाक्टर एलिजा तण्डुकारका अनुसार कुनै दबावका कारण नभएर विशेषज्ञ डाक्टर नभएको र त्यसमा पनि शवको अवस्था अलिक जटिल भएकाले धरान रेफर गरेको अस्पतालले जनाएको छ ।