भद्रपुर/ झापामा सञ्चालित एक इन्धन पम्प बिक्रेताले डिजेल मिसाएर पेट्रोल बिक्री गरेका कारण मोटरसाइकल तथा टेम्पोमा खराबी आएको सवारीधनीहरूले आरोप लगाएका छन् ।

भद्रपुर–६ स्थित झापाचोकको नेपाल आयल निगम लिमिटेडको बिक्रेता सन्तोष ट्रेडिङबाट तेल भरेका सवारी साधनमा खराबी आउन थालेपछि मिसावट गरी पेट्रोलियम पदार्थ बेच्ने गरेको घटना बाहिरिएको हो । सवारी साधनको इञ्जिनमा समस्या आउन थालेपछि सवारीधनीहरू आफ्नो साधन लिएर सन्तोष ट्रेडिङमा भेला भएका थिए ।

सन्तोष ट्रेडिङका कर्मचारीले दुई र चार पाङ्ग्रे पेट्रोलबाट चल्ने सवारी साधनमा गत शुक्रबार र शनिबार डिजेल मिसावट गरिएको पेट्रोल बेचेका थिए । मिसावट गरिएको पेट्रोल हालेका सवारीधनीले आइतबार थाहा पाएका थिए । सवारी साधनको इञ्जिनमा समस्या आएर प्राविधिकलाई देखाउँदा डिजेल मिसिएको पेट्रोलका कारण समस्या आएको मोटरसाइकल धनीलाई बताएपछि बुधबारसम्म सयभन्दा बढी सवारी साधन पम्पमा लिएर आएका छन् ।

शिवकुमार गुप्ता सञ्चालक रहेको पम्पमा घटनालाई ढाकछोप गर्न पम्पका कर्मचारीले केही मोटरसाइकललाई धनीलाई निःशुल्क पेट्रोल हाली दिएका थिए । नयाँ मोटरसाइकलले इञ्जिनबाट धुवाँ फाल्ने गरेको मोटरसाइकल धनी विष्णु दासले बताए । पम्पको लापारबाहीका कारण चारदिनदेखि मोटरसाइकलमा खराबी आएको उनले बताए ।

मोटरसाइकल बनाइदिनु पर्ने र सञ्चालकलाई कारबाही हुनुपर्ने पीडितहरूको माग छ । नयाँ मोटरसाइकल स्टार्ट गर्दा समस्या आएपछि ग्यारेजमा लगेर देखाउँदा पेट्रोलमा डिजेल मिसावट भएर समस्या आएको प्राविधिकले जानकारी दिएको मनान शेखले बताए । ट्याङ्कीबाट निकालेर पम्पका कर्मचारीलाई तेल देखाएर मोटरसाइकल पम्पमा नै छाडेको उनको भनाइ छ ।

पम्पले पहिलेदेखि नै पेट्रोलियम पदार्थमा मिसावट गरी बेच्दै आएको आरोप पीडित पक्षको छ । कालाबजारीको विषयमा सम्बन्धित निकायमा उजुरी दिने सुनिल मेचेले बताए । पेट्रोलमा मिसावट भएको पम्पका कर्मचारीले मनोज कर्ण र श्याम राजवंशीले स्वीकार गरेका छन् । ट्याङ्करले पेट्रोलको ठाउँमा डिजेल भरिएकोले समस्या आएको उनीहरूको भनाइ छ ।

ट्याङ्करले तेल हाल्दा पेट्रोल भएको ट्याङ्कीमा डिजेल हालिदिएपछि समस्या आएको कर्मचारी ललित करले बताए । केही लिटर डिजेल हालेपछि मात्र पम्पका कर्मचारीले पेट्रोलमा मिसावट भइसकेको थाहा पाएको उनले जनाए । मिसावट भएको जानकारी कसैलाई नगराई दिनभर बिक्री गर्दा मोटरसाइकलहरूमा खराबी आएको उनको भनाइ छ ।

जिल्ला प्रशासन, आयल निगम र गुणस्तर तथा नापतौलको टोलीले तेल जाँच गरिरहेको सञ्चालक गुप्ताले बताए । पम्पको तेलमा कुनै खराबी नभएको उनले दाबी गरे । घटनापछि बुधबारबाट सवारी साधनहरूको तथ्याङ्क लिने काम भइरहेको वडाका इन्स्पेक्टर यमकुमार श्रेष्ठले जानकारी दिए ।

यस विषयमा प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जनाए । सवारीधनीबाट गुनासो आएपछि आयल निगमका कर्मचारी, प्रहरी, प्रशासनले अनुसन्धान शुरु गरेको डिएसपी श्रेष्ठको भनाइ छ ।