धरान /  धरान उपमहानगरपालिकाले आर्थिक बर्ष ०७६/७७ को निति, कार्यक्रम तथा बजेटमार्फत जेष्ठ नागरिककालागि ‘नक्कली दांत, सक्कली हासों’ निति बनाको छ । दांत नभएका जेष्ठ नागरिकलाई दांत लगाइदिनका लागि बजेट नै विनियोजन गरेको छ ।
नेपाल सरकारले हाल लागु गरेको सामाजिक स्वास्थ्य विमामा दांत सम्बन्धी रोगको उपचार सेवालाई सम्बोधन गरेको छैन । सरकारले दंतरोगलाई स्वास्थ्य विमामा समावेश नगर्दा दन्तविहिन अधिकांस जेष्ठ नागरिकहरु पिडित भइरहेको बेला धरान उपमहानगरपालिकाले यस्तो निति ल्याएको हो ।
उपमहानगरपालिकाको नगरसभाले प्रस्तुत गरेको निति कार्यक्रम तथा बजेट पारित भएकोबारे शुक्रबार पत्रकार सम्मेलन गर्दै कार्यवाहक प्रमुख मन्जु भण्डारी सुवेदीले ७० बर्षमाथिका जेष्ठ नागरिकहरुकालागि दांत लगाइदिने निति बनाएको बताइन् ।
उनका अनुसार चपाउने दांत नभएका जेष्ठ नागरिकलाई निशुल्क दांत लगाइदिनकालागि पहिलो चरणमा धरानमा २० वटा वडा मध्ये एउटा छानिने छ । छानिएको वडाका जेष्ठ नागरिकको दांत लगाउन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दन्तचिकित्सा महाविद्यालयसंग समन्वय गरिने बताइन् ।
जेष्ठ नागरिकहरु दांत नभएकै कारण आफुले चाहेका खानेकुरा मज्जाले चपाएर खान नसक्ने भएकाले सौन्दर्य भन्दा पनि चपाउन सहज होस भनेर उपमहानगरपालिको आर्थिक बर्ष ०७६/७७ को निति कार्यक्रम तथा बजेटमा ७ लाख रुपैया बजेट विनियोजना गरेर ‘नक्कली दांत सक्कली हांसो’ निति समेटेको बताइन् ।
यसैगरी निति कार्यक्रम तथा बजेटले स्वर्गीय मेयर तारा शुव्वाको स्मृतीमा अक्षयकोष स्थापना गरिने कार्यबाहक मेयर मन्जु भण्डारीले वताइन् । उक्त अक्षय कोष स्वर्गीय सुव्वाले अध्ययन गरेको श्री शिक्षा निकेतन माविमा तीन लाख रुपैयाको अक्षय कोष स्थापना गर्न नयाँ आर्थिक वर्षको नीति र वजेटको कार्यक्रममा समावे गरिएको छ ।
यसैगरी साविकको पाँचकन्या गाविस (हालको धरान उपमहानगरपालिका वडा नम्बर ४) का तत्कालिन उपाध्यक्ष स्वर्गीय यमबहादुर मगरको योगदानलाई सम्मान गर्दै पाचककन्याको आधारभुत प्राविमा अक्षय कोष स्थापना गरिने भएको छ । उनको स्मृतीमा एक लाखको अक्षय कोष स्थापना गरिने भएको हो ।