धरान / धरानस्थित इलाका प्रहरी कार्यालय धरान परिसरमा जनसहभागितामा मुलुककै नमुना हिरासत निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको छ ।
विभिन्न अपराध एवं घटनाहरुमा पक्राउ परेकाहरुलाई अपराध अनुसार छुटछुटैं राख्ने व्यवस्था मिलाउन स्थानीयको सहयोगमा एक बर्ष अघि निर्माण थालिएको हो ।
धरानका पूर्व उपमेयर मीन सुब्बाको संयोजकत्वमा बनेको निर्माण समितिले शनिबार दोस्रो तलाको ढलान सम्पन्न गरेको छ । सोही दिन समितिले अनुगमनका लागि प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारी, प्रदेश सांसदहरु उमिता बराइली, चन्द्रप्रसाद श्रेष्ठ, सावित्री जोशी, धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी, सुनसरीका एसपी यज्ञविनोद पोखरेल, पूर्वमेयर मनोजकुमार मेन्याङ्बो, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटालगायत विभिन्न राजनीतिक दलका नेता, मिडियाहरुलाई समेत बोलाएको थियो ।

समितिका सदस्य सुवास पौडेलका अनुसार भवनको कुल २ करोड ७८ लाख रुपैया लागत स्टिमेट अनुसार काम भइरहेको छ । भवन निर्माणका लागि प्रदेश सरकारबाट ४० लाख, प्रदेश सांसद विकास कोषबाट १० लाख, संघको सांसद विकास कोषबाट १० लाख सहयोग प्राप्त भएको छ । उपमहानगरपालिकाबाट ५ लाख बजेट विनियोजन गरेको निर्माण समितिका संयोजक मीन सुब्वाले जानकारी दिए । स्थानीय सहयोगी दाता एवं जनताबाट झण्डै ५० लाख सहयोग संकलन भएको छ ।२०७६ को अन्त्यमा फिनिसिङ गरि इलाका प्रहरी कार्यालयलाई हस्तान्तरण गरिने उनले बताए ।
दुई तलाको भवनमा ९ वटा कोठा हुने छन् । महिला र पुरुषको छुट्टा छुट्टै हिरासत कक्ष हुने छ । अपराधको प्रकृति अनुसार अलग अलग कोठामा कैदीहरुलाई राखिने अवधारणा अनुसार तत्कालिन डिएसपी रामेश्वर पौडे्लको सकृयतामा यो भवन निर्माण शुरु भएको हो ।