ताप्लेजुङ/  विद्यार्थीलाई सैन्य अवधारणाको प्रारम्भिक जानकारी दिने उद्देश्यले ताप्लेजुङको सेन्टमेरिज आवासीय माविमा शुक्रबारबाट ४६ औं ब्याचको राष्ट्रिय सेवा दल (एनसीसी) को तालिम शुरु भएको छ ।

तालिमको शुरुवात गर्दै प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले विद्यालय तहबाटै पाएको सुरक्षासम्बन्धी ज्ञान र सीप विद्यार्थीहरूको आगामी जीवनमा निर्वाहमुखी हुने आधारको रूपमा रहने बताए । उनले सैन्य सुरक्षासम्बन्धी आधारभूत तहको ज्ञान र सीपसँगै शरीर स्फूर्त र स्वस्थ राख्न तथा मेहनती र कामप्रति प्रतिबद्ध बन्न विद्यार्थीलाई सघाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा भीमकाली गुल्ममा कार्यरत प्रमुख सेनानी उमेश श्रेष्ठले तालिमको उपयोगिताका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापा, सशस्त्र प्रहरी बल नं. १ गुल्म कञ्चनजङ्घा हेडक्वार्टरका गुल्मपति सशस्त्र डिएसपी श्याममणि ढकाल सहितको उपस्थिति रहेको थियो ।

सेन्टमेरिज आवासीय माविका प्रिन्सिपल दिनेश प्रसाईं (डोलेश्वर) ले विद्यालय तहमै पाएको सीपलाई व्यवस्थित र उपयोगी बनाउनेतर्फ लाग्न विद्यार्थीहरूलाई आग्रह गरे । यो तालिम १ सय दिनको हुन्छ ।