धरान । जुन २१ तारिखका दिन विश्वका सङ्गीतकर्मीहरूको खुशीको दिन हो । यो दिन विभिन्न कार्यक्रम गरेर सङ्गीत दिवस मनाइन्छ । शुक्रबार विश्वका सङ्गीतकर्मीहरूले खुसीयालीसहित विश्व सङ्गीत दिवस मनाए । सङ्गीत पारखीहरूको शहर धरानमा केही वर्षदेखि भव्य कार्यक्रम गरेर विश्व सङ्गीत दिवस मनाउने गरिएको थियो ।
तर यसपटक धरानमा पहिला जसरी विश्व सङ्गीत दिवस मनाइएन ।
धरान सङ्गीत प्रतिष्ठानले महत्वपूर्ण कार्यक्रमका रूपमा मनाउने गरेको विश्व सङ्गीत दिवस यसपटक नमनाइनुको कारण हो, सङ्गीत प्रतिष्ठानमा लागेको चुनाव । प्रतिष्ठानको नयाँ कार्यसमिति चयनका लागि दुई सातादेखि प्रयास भए पनि अहिलेसम्म नयाँ कार्यसमिति चयन हुन सकेको छैन । सङ्गीतकार भानु थापा नयाँ कार्य समिति चयन हुन नसक्दा सङ्गीत दिवस मनाउन नसकेको बताउँदै नयाँ समितिले पछि भए पनि सङ्गीत दिवसको कार्यक्रम आयोजना गर्नुपर्ने बताउँछन् ।
धरानको सङ्गीत विकासका लागि भनेर स्थापना भएको प्रतिष्ठानमा अहिले नयाँ अध्यक्ष कसलाई बनाउने भन्नेमा दुई पक्षबीच कुरा मिल्न सकेको छैन । प्रतिष्ठानकै एक पक्षले होटल एसोसिएसन अफ धरानका पूर्वअध्यक्ष सुवर्ण श्रेष्ठलाई अध्यक्ष बनाउन जोड गरिरहेको छ भने अर्को पक्षले शिक्षा तथा खेल क्षेत्रमा सक्रिय नवीन राईलाई अध्यक्ष बनाउन जोड दिएको छ । दुवैबीच सहमति गराउने पटक–पटकको प्रयास असफल भएपछि समिति चयनका लागि चुनावी प्रक्रियामा जाने अवस्था आएको प्रतिष्ठानका सल्लाहकार रमेश राई बताउँछन् । राई भन्छन्, ‘अहिले पनि सहमतिको प्रयास गरिरहेका र्छौं तर दुवै पक्ष सहमत नभएपछि चुनावमा जानुको विकल्प छैन । तर अन्तिमसम्म हाम्रो प्रयास सहमतिमै केन्द्रित हुनेछ ।’
दुई साताअघि भएको प्रतिष्ठानको अधिवेशनले सहमतिमा चयन गर्न नसकेपछि शनिबार (आज)का लागि समय तोकिएको छ । बिहीबार साँझ प्रतिष्ठानका सल्लाहकारहरूसहित छलफल भए पनि दुवै पक्ष पछि हट्न नमानेपछि सहमति हुन सकेन । प्रतिष्ठानजस्तो विशुद्ध सङ्गीत सम्बद्ध संस्थामा आपसमा मिलेर जानुको साटो पदका लागि मरिहत्ते गर्ने र राजनीतिकरण भएको भन्दै कतिपय सदस्यहरूले भने असन्तुष्टि जनाएका छन् । नेपालका वरिष्ठ गायक तथा प्रतिष्ठानका सल्लाहकार दीप श्रेष्ठले सङ्गीत प्रतिष्ठानजस्तो संस्थामा सबै एक भएर जानु उचित हुने बताए । उनले भने, ‘मैले पटक–पटक भनेको छु, चुनावभन्दा सहमतिमै अघि बढ्नु उचित हुन्छ ।’