इटहरी । करोडौ लगानीमा प्रदेश १ कै ठूलो पाउडर दुग्ध उत्पादन हुने भएको छ । सुनसरीको इटहरी १ आँपगाछीमा प्रदेश सरकारको २० करोडको लगानीमा पाउडर दुग्ध उद्योग सञ्चालनमा आउँने भएको हो ।
इटहरी १ आँपगाछीमा २८ करोड, ६१ लाख २३ हजार लागतमा मिल्क पाउडर प्लान्ट उद्योगको शिलन्यास शनिबार भएको हो । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उद्योगको शिलन्यास गदै कृषि क्षेत्रको विकासमा प्रदेश सरकार लाग्ने बताए । उनले कृषि क्षेत्रबाट मात्र देश विकास सम्भब रहेको बताएका हुन ।
मुख्यमन्त्री राईले सरकारले पहिलो प्राथमिकता कृषि क्षेत्रलाई दिने बताए । नेपालको आर्थिक क्षेत्र मजबुत बन्नुमा कृषि पेसा नै मुख्य स्रोत रहेको भन्दै कृषिमा प्रथामिकताको साथ २० करोड अनुदान प्रदेश सरकारले दिएको बताएका हुन ।
प्रदेश नम्बर १ मा मिल्क होलिडे समाप्त पार्न प्रदेश सरकारको २० करोडको अनुदानमा कामधेनु दुग्ध सहकारी संस्थाले पाउडर प्लान्टको स्थापना गर्ने भएको हो । प्रदेश नम्बर १ मा प्रत्येक दिन खेर गइरहेको भनिएको ५० हजार लिटर दूधलाई धूलो दूध बनाउन सुनसरीको तरहरास्थित कामधेनु सहकारीले पाउडर प्लान्ट उद्योगको शिलन्यास गरेको हो ।
प्लान्ट उद्योग सञ्चालनका लागि भौतिक संरचना निर्माण, मेसिनरी तथा उपकरण खरिद, ल्याब, कोल्ड रुम, ट्रान्सफर्मर, विद्युतीकरण, प्याकेजिङ, ट्रान्सपोर्टेसन, भन्सार शुल्क, बिमा शुल्क, प्राविधिक परामर्शलगायतका शीर्षकमा प्रदेश सरकारले अनुदान गर्ने सहमति भएको कामधेनुका अध्यक्ष बावुराम खत्रीले भने ।