जनकपुर । सवारी मागभन्दा बढी सञ्चालन भएको ई–रिक्साका कारण प्रदेश २ को मुख्य शहर प्रभावित बनेका छन् ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा ई–रिक्सा आतङ्क सिर्जना गरेको छ । उक्त क्षेत्रमा एकै परिवारले एकभन्दा बढी रिक्सा किनेर सञ्चालन गरिरहेका छन् । चाहिनेभन्दा बढी भएपछि रिक्साले बजारनै ढाकेका कारण ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ । सरकारी नीति र प्रष्ट निर्देशिका बन्न नसक्दा यो सवारी साधन सबैको टाउको दुखाई बनेको छ ।

शुरुवाती क्षणमा ५० वटा मात्रै सिटी रिक्सा दर्ता गरिएको भए पनि अहिले जनकपुरधाम उपमहानगरपालिकामा मात्र ६ सय ४२ वटा रिक्साहरू दर्ता भइसकेका छन् । दर्ता नभएका रिक्साहरू उल्लेख्य रहेको स्थानीय बताउँछन् । जनकपुरधाम उपमहानगरपालिकामा दर्ता भए पनि रिक्साका लागि रुट परमिट भने यातायात व्यवस्था कार्यालयले रुट परमिट दिने गरेको छ । तर रुट परमिटको आधारमा कुनैपनि ई–रिक्सा संचालनमा आएको देखिदैन । निकै पुरानो भइसक्दासमेत सञ्चालनमा आइरहेकाले सर्वसाधारणहरूलाई आफ्नो सवारी सञ्चालनमा समेत समस्या आउने गरेको र दुर्घटना हुने सम्भावनासमेत बढेको जनकपुर युथ एक्सन फोर्सका अध्यक्ष प्रशान्त झा बताउँछन् ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख दीपक साहसँग कुरा गर्दा उनले भने जनकपुर उपमहानगरपालिकामा मात्र २५०० भन्दा बढी ई–रिक्सा रहेको र तिनीहरूमा जनचेतना अभावको कारण ट्राफिक व्यवस्थापनमा चुनौति आएको बताउछन् ।

एक त जनकपुरको सडकको हालत दुरुस्त छैन भने पार्किङको व्यवस्था नभएकोले आफूहरूबीच बाटोमा अव्यवस्थित तरिकाले गाडी लाउन बाध्य भएको एक रिक्सा चालकले दुःख पोखेको छ । ई–रिक्सा चालकको भनाइअनुसार तीन वाट विद्युत् खर्चमा अटो रिक्साको ब्याट्री चार्ज हुन्छ । ब्याट्री चार्ज भएपछि करिब ८० किमीसम्म ई–रिक्सा चलाउन सकिन्छ । ई–रिक्साको प्रयोग बढ्न थालेपछि लामो समयदेखि पारम्परिक रिक्सा चलाउँदै आएकाहरू पनि यही साधनतर्फ आकर्षित भएका छन् । तर अहिलेसम्म यसको व्यवस्थानको विषयमा सरोकरवाला निकाय नै मौन देखिएका छन । यसको व्यवस्थान नगरिएको खण्डमा यसले नगरमा समस्या थपिने देखिन्छ ।

जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रीता झाले ट्राफिक व्यवस्थापनका लागि चाँडै लागि पार्किङ, वन वे, लगायतका विषयहरूको टुङ्गो लगाउने बताइन् ।