उदयपुर / प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले युवाहरुलाई आफ्नो सीप सिकेर उद्यमी बन्न आग्रह गरेका छन् ।
उद्यपुरको गाइघाटमा शुक्रबार रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री घिमिरेले युवाहरुलाई आफ्नो क्षमता विकास गरि रोजगार बन्न र सीप सिकेर उद्यमी बन्न आग्रह गरेका हुन ।
धेरैओटा काममा हात नहाली एउटै काममा केन्द्रित भएर नयाँ सोच र नयाँ तरिकाबाट आफ्नो क्षमताको विकास गर्दै आर्कषक रोजगारी गर्ने र अझ सीप र दक्षतालाई निखार्दै उद्यमी बनेर उत्पादकत्व बढाउनु पर्ने उनले बताए ।
अहिले दक्ष जनशक्ति नभएकाले रोजगार नपाएको र रोजगारदाताले पनि काम गर्ने जनशक्ति नपाएको बताउँदै मन्त्री घिमिरेले युवाहरुले सीप विकास गर्नुपर्नेमा जोड दिए । साथै मन्त्री घिमिरेले रोजगार मेलाले रोजगारी खोजी रहेका र दक्ष जनशक्ति खोजिरहेका बीच पुलको काम गर्ने बताउँदै मेलाबाट भरपुर फाइदा लिन वेरोजगार युवाका साथै सरकारी कार्यलय, उद्यागी व्यवसायी र जनप्रतिनिधिहरुलाई आग्रह गरे ।
त्रियुगा नगरपालिका, त्रियुगा उद्योग बाणिज्य संघ र साना तथा घरेलु उद्योग महासंघ उदयपुरले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत आयोजना गरेको मेलामा ८ सय ९९ जनाको लागि विभिन्न उद्योग र संघ संस्था तथा व्यापारिक प्रतिष्ठानले रोजगारी दिने भएका छन् ।
त्यस्तै एक हजार बढीले रोजगारीको माग गर्दै रोजगार माग फारम भरेको त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरलिे बताए । उनले यहाँ भएको रोजगारी र यही रहेका वेरोजगारलाई एकठाउँमा ल्याएर रोजगार दिलाउँने तथा सीप र क्षमता नभएकालाई सीप र क्षमताको विकास गरि रोजगार र उद्यमशील बन्न प्रेरित गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताए ।
एक दिन चल्ने मेलामा रोजगारदाता उद्योग, सीप प्रदान गर्ने संस्था, व्यापारिक प्रतिष्ठान र विभिन्न संघ संस्था गरी दुई दर्जनबढी स्टल राखिएको छ भने तीन हजार बढीले स्टलको अवलोकन गरेको आयोजकले जनाएको छ ।