विराटनगर । स्वदेशमा उद्योगको सङ्ख्या वृद्धि गरी उत्पादन बढाएर निर्यात गराउन सकिए बढ्दै गएको व्यापार घाटामा कमी ल्याउन सकिने उद्योगी तथा सरोकारवालाहरूले बताएका छन् ।
बर्सेनी व्यापार घाटा बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनीहरूले व्यापार घाटामा कमी ल्याउन स्वदेशी उद्योगले उत्पादन गरेका वस्तुको निर्यात बढाएर आयातमा प्रतिस्थापन गराउन राज्यले भूमिका खेल्नुपर्नेमा जोड दिए ।
व्यापार तथा निकासी प्रवद्धर्न केन्द्र र मोरङ व्यापार सङ्घले विराटनगरमा बिहीबार संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले स्वेदशी उद्योगले उत्पादन गरेका वस्तुको निर्यातको सम्भाव्यता, आयातमा प्रतिस्थापन र अन्तर प्रदेशमा व्यापार हुने वस्तुको उत्पादनमा वृद्धि गरिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक सुरेन्द्रनाथ गोङ्गलले व्यापार घाटामा कमी ल्याउन स्वदेशी उद्योगको उत्पादनमा वृद्धि गरी आयात प्रतिस्थापन गर्न जरुरी रहेको बताए । यसको लागि सरकारले प्रदेशमा रहेका उद्योगले उत्पादन गर्ने वस्तुको सम्भाव्य र प्रोफाइल प्रतिवेदन बनाउन लागिपरेको उनले बताए । ‘कुन प्रदेशको उद्योगले उत्पादन गरेको वस्तु कस्तो छ र त्यस्ता वस्तुको उत्पादनमा वृद्धि गरी निर्यात बढाउन सरकारले प्रतिवेदन बनाउन शुरु गरेको छ’ उनले भने, ‘यसमा सबै उद्योगी, व्यापारीको साथ सहयोगको खाँचो छ ।’
कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत गोविन्द आचार्यले १ नम्बर प्रदेशमा ७ सय २२ वटा उद्योग रहेको जानकारी दिँदै उत्पादन वृद्धि गरी निर्यात बढाउनुपर्नेमा जोड दिए । ‘१० जना भन्दा बढी कर्मचारहीहरू रहेको उद्योग प्रदेश १ मा ७ सय २२ वटा रहेको छ,’ उनले भने, ‘यहाँको उद्योगले उत्पादन गरेको एक दर्जन बढी उत्पादन निर्यात हुँदैछ ।’ अब उत्पादनमा वृद्धि गरी निर्यात बढाएर आयात प्रतिस्थापन गरिनुपर्नेमा उनले जोड दिए । अन्य प्रदेशको तुलनामा प्रदेश १ को उत्पादन सबैभन्दा बढी भएको उनले जानकारी दिए ।
कार्यक्रममा उद्योग सङ्गठन मोरङका वरिष्ठ उपाध्यक्ष सुयस प्याकुरेलले सरकारले निजी क्षेत्रमैत्री नीति निर्माण गरी लगानीमैत्री ऐन कानूनहरू निर्माण गरिनुपर्नेमा जोड दिए । निजी क्षेत्रलाई लगानी गर्ने वातावरणको सिर्जना राज्यले गरिदिनुपर्ने उनको भनाइ थियो ।
त्यस्तै मोरङ व्यापार सङ्घको वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले स्वदेश उद्योगले उत्पादन गरेको बस्तुको निर्यातमा समस्या आएकोले राज्यले सहज भूमिका निर्वाह गरिदिनुपर्ने बताए । भारतस्थित मिरगञ्ज पुलको पुनः निर्माण हुन नसक्दा आयात र निर्यातमा समस्या भएको भन्दै भारतसँग समन्वय गरी नेपाल सरकारले चाँडै समस्याको समाधान गरिदिनुपर्ने बताए ।