रङ्गेली/ सरकार सञ्चालन, विकास निर्माणका लागि आवश्यक आर्थिक नीति योजना निर्माणमा केन्द्रित रहने प्रदेश १ को बजेट अधिवेशन सोमबारबाट शुरु भएको छ ।

प्रदेशसभामा प्रदेश प्रमुख प्रा.डा गोविन्दबहादुर तुम्बाहाङले पठाएको पत्र पढ्दै सभामुख प्रदीपकुमार भण्डारीले बजेट अधिवेशन शुरु भएको जनाकारी दिए । सोमबारको पहिलो बजेट अधिवेशनको बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका सांसद्हरूले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा नेकपाका सांसद् टङ्क आङ्बोले यसवर्षलाई सङ्घीयता कार्यान्वयन वर्षको रूपमा लिएको बताए । उनले प्रदेश १ सरकारले प्रतिबद्धता अनुरूपको काम गर्न नसकेको समेत बताए । उनले प्रदेश १ मा घटेका घटनाप्रति जिम्मेवार हुन सरकारलाई आग्रह गरे ।

संसदीय दलका नेता राजीव कोइरालाले नीति तथा कार्यक्रम हावादारी नबनाउन आग्रह गरे । उनले यर्थाथको धरातलमा रहेर नीति तथा कार्यक्रम तयार गर्न सुझाव दिए । उनले प्रत्यक्ष निर्वाचित र समानुपाति संसद्को बीचमा ठूलो खाडल जस्तो देखिएको बताए । उनले दुवै खाले संसद्लाई समेट्ने गरी बजेटको व्यवस्था गर्नुपर्ने बताए । प्रदेश सरकार जनतासँग परिचित मात्र भएकाले यसले आफ्नो काम देखाउन बाँकीनै रहेको बताए ।

समाजवादी पार्टी नेपालका सांसद् जयराम यादवले गत वर्षको जस्तो सस्तो लोकप्रियताको लागि बजेट नल्याउन सुझाब दिए । उनले समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसद्लाई बजेटमा समान व्यवहार गर्न आग्रह गरे । उनले बजेट अधिवेशन भए पनि प्रदेशको नामाङ्कनमा पनि ध्यान दिन सरकारलाई आग्रह गरे । राप्रपाकी सांसद् इन्दिरा राईले संसद् विकास कोषको रकम उपलब्ध गराउन माग गरिन् ।

सङ्घीय लोकतान्त्रिक मञ्चकी सांसद् विष्णु तुम्बाहाम्फेले सबैलाई समेट्ने गरी बजेट ल्याउनुपर्ने बताइन् । सोमबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले विनियोजन विधयेक संसद्मा पेश गरेका थिए । उनले बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरूसहितको पूर्व बजेट संसद्मा प्रस्तुत गरेका थिए । मन्त्री आङ्बोले संसद्मा प्रस्तुत गरेको विधेयकमाथि मङ्गलबारको बैठकमा छलफल हुनेछ ।