विराटनगर/ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजोका ऐन कानूनले लगानीलाई उत्साहित गर्न नसकेको टिप्पणी गर्दै अब बन्ने कानून लगानीमैत्री बनाउने बताएका छन् ।
राज्यले नीजि क्षेत्रको समस्यालाई सम्बोधन गरी लगानीको सुरक्षा राख्ने हिसाबले अब बन्ने कानून लगानीमैत्री बन्ने बताएका हुन् । मोरङ व्यापार सङ्घको ६४ औं वार्षिक साधारणसभाको उद्घाटनका क्रममा प्रचण्डले राज्यले निजी क्षेत्रको समस्यालाई सम्बोधन गरेर स्वदेशमा गरेको लागानीको सुरक्षा गर्ने खाल्को नीति निर्माण गर्ने बताए ।
‘शान्तिसुरक्षा र स्थायित्व लगानीमैत्री वातावरणका अनिवार्य शर्त हो,’ प्रचण्डले भने, ‘२–४ पैसा विदेश छ भने पनि स्वदेशै लगानी गर्नुहोला । तपाईँहरूले गरेको लगानीको सुुरक्षा राज्यले गर्दछ ।’ भर्खरै लगानी सम्मेलन सकिएको र खर्बाैको लगानीको प्रतिबद्धता आएको चर्चा गर्दै प्रचण्डले राज्यले निजी क्षेत्रसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताए । ‘सरकारले निजी र सार्वजनिक सहकार्यलाई माथि उठाउने छ,’ उनले भने, ‘निजी क्षेत्रलाई पूँजी र व्यवसायको सुरक्षा दिएर उत्पादन वृद्धि र रोजगारी सृष्टिको अवसर प्रदान गर्नेछ । आयात प्रतिस्थापन गर्ने र निर्यातजन्य उद्योगको वृद्धि गर्ने प्राथमिकता सरकारले तयार गरेको छ ।’
उनले जनतालाई सन्तुष्टि दिन नसके देश तथा जनताका लागि दुर्भाग्यपूर्ण हुने चर्चा गर्दै अब पर्खने बेला छैन र यो सरकारले पनि नगरे कसले गर्छ भन्ने प्रश्न गरे । प्रचण्डले अब पनि परिवर्तन नदिए जनता पर्खेर नबस्ने चेतावनी दिए । लामो उतार–चढाव र सङ्घर्ष, अराजकता र जटिलता भोगेर स्थायित्व र स्थिरताको अवस्था निर्माण भएको उनले उल्लेख गरे । प्रचण्डले भारतमा भर्खरै बहुमत प्राप्त प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोनमार्फत् बधाई दिने क्रममा नेपालको विकासमा गहिरो चासो देखाएको बताए ।
कार्यक्रममा सङ्घीय सरकारको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले निजी क्षेत्रको समस्याको विषयमा छलफल गरेर लगानीमैत्री वातावरण बनाउनुपर्ने बताए । ‘निजी क्षेत्रले व्यापार घाटा मात्र भयो भनेर देखाउने गर्दछन्,’ आफैं सामान आयत गरेर आफैं घाटा भयो भन्नु राम्रो होइन् ।’ उनले विलासिताको वस्तुभन्दा पनि अति आवश्यक वस्तुको आयात गर्न व्यापारीहरूलाई सुझाब पनि दिए । प्रदेश १ का आन्तरीक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले लगानीमैत्री वातवरण नबन्दा निजी क्षेत्रको लगानी जोखिममा परेको बताए ।
उनले निजी क्षेत्रले गरेको लगानीको सुरक्षा गर्ने नीति निमार्ण गर्न जरुरी रहेको बताए । कार्यक्रममा मोरङ व्यापार सङ्घको अध्यक्ष पवनकुमार सारडाले उद्योगी, व्यापारीहरूलाई बुझाउनुपर्ने कर सम्पूर्ण कर एकद्वार प्रणालीबाट हुनुपर्ने बताए । ‘देश सङ्घीय संचरनामा गएसँगै अहिले हामीले तीनवटै सरकारलाई कर बुझाउँदै आएको छौं,’ उनले भने, ‘राज्यले गर्ने कर असुलीमा एकद्वार प्रणाली गरिदिए व्यापार व्यवसाय सञ्चालन गर्न सहज हुने थियो ।’ उद्योगहरूमा बैङ्कबाट प्रभाव हुने कर्जामा सरल ढङ्गबाट लगानी गरिदिनुपर्ने उनले माग राखे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घको उपाध्यक्ष किशोर प्रधान, उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेलगायतले बोलेका थिए । सोही अवसरमा पत्रकार शङ्कर खरेलसहित मोरङ व्यापार सङ्घमा आवद्ध सदस्यहरू पनि सम्मानित भएका थिए ।