धरान/ प्रदेश–१ सरकारले संरचनाको अभाव, कर्मचारीको अभाव र कानूनको अभावका कारणले बजेट भनेको अङ्कमा खर्च गर्न नसक्ने स्थिति रहेको मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।
कानून निर्माणका कारण प्रदेशको विकास र समृद्धिले सुस्तता पाएको महसुस गरिए पनि केही कानूनी संरचनागत आधार खडा गरेर विकास र समृद्धिलाई तीव्र गतिमा अघि बढाउने काम भइरहेको मुख्यमन्त्री राईले बताए ।
धरानस्थित पानवारीमा राष्ट्रिय वाणिज्य बैङ्कको नयाँ शाखा उद्घाटनका क्रममा मुख्य मन्त्री राईले आगामी वर्षमा तीव्र गतिमा बजेट खर्च गरेर ठोस ढङ्गले विकास निर्माणको काम अघि बढाउने बताए । प्रदेश सरकारको आगामी नीति कार्यक्रम तर्जुमा गर्ने, सभामा प्रस्तुत गर्ने तयारीमा सरकार रहेको बताए ।
उनले आवधिक योजना तर्जुमाको काम लगभग सम्पन्न गरेको, त्यसको आधारपत्र तयार गरेको बताए । उनले यही आधारपत्रमा टेकेर प्रदेशको विकासलाई अघि बढाउने बताए । मुख्य मन्त्री राईले प्रदेश सरकारले कृषिको विकासलाई उच्च प्राथमिकतामा राखेको बताए । ‘पर्यटन, उद्योग, जलस्रोतको उत्पादन साथै अन्य उत्पादनलाई कसरी जोड्ने रोजगारीको सिर्जना कसरी गर्ने भन्ने कुरातर्फ प्रदेश सरकार गम्भीरतापूर्वक लागेको छ’ मुख्यमन्त्री राईले भने ।
मुख्यमन्त्री राईले मुलुक द्विविधा र अन्योलको अवस्थाबाट पारपाइसकेकाले अब कुनै प्रकारको बाटो बिराएर हिँड्नु पर्ने अवस्था नरहेको स्पष्ट पारे । ‘देशले स्थिरता र सुशासनको सकारात्मक बाटो तय गरेको छ, विकास र समृद्धिको प्रतिफल प्राप्त गर्ने आकांक्षाका रुपमा हामी अघि बढिरहेका छौं,’ उनले भने, ‘सङ्घीय प्रणालीलाई उद्याउनका निम्ति, यो प्रणालीलाई हिँडाउनका निम्ति दौडाउनका निम्ति कानूनी आधारलाई खडा गरिरहेका छौं ।’
आगामी वर्षको नीति तथा कार्यक्रम तथा बजेटको तयारीमा प्रदेश सरकार लागि परेको मुख्यमन्त्री राईले बताए । उनले जनताका चाहाना भावना, अनुसार बजेट केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘आवधिक योजना तर्जुमा गर्नका लागि आधारपत्र तयार गर्ने काम भइरहेको छ,’ मुख्यमन्त्री राईले भने, ‘१३७ स्थानीय तहसँग समन्वय गरी योजना डुप्लिकेशन नहुने गरी तय गर्दैछौं ।’ प्रदेश सरकारले स्रोत र सम्भावनाको प्रयोग गर्ने बताउँदै मुख्य मन्त्री राईले लगानी सम्मेलनको आयोजना गरी प्रदेशको समृद्धिका लागि अबको विकास योजनाद्ध ढङ्गले अघि बढ्ने बताए ।