धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न चिकित्सकहरू तलब वृद्धिको माग गर्दै फेरि आन्दोलित बनेका छन् ।
विगत चार महिनादेखि तलव वृद्धिको माग गर्दै आए पनि प्रतिष्ठान प्रशासनले सुनुवाइ नगरेको भन्दै चरणबद्ध आन्दोलनमा होमिएका हुन् । इन्टर्न गरिरहेको चिकित्सकहरूले देशव्यापी ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नगरेको भन्दै आन्दोलनमा उत्रिनु परेको इन्टर्न सङ्घर्ष समितिका संयोजक डा. सञ्जय बरालले बताए । ‘प्रतिष्ठानका पदाधिकारीहरूबाट कुनै ठोस सुनुवाइ र निर्णय नगर्नुका साथै पटक–पटकको बैठकमा इन्टर्न डाक्टरहरूलाई केवल झुलाउने र आफ्नो वचन फेरिरहने प्रवृत्ति देखिएको छ, जुन आफैमा निन्दनीय छ’ –उनले भने ।
पछिल्लो चरणको आन्दोलनका क्रममा परीक्षा शाखाका डिनको संयोजकत्वमा बनेको समितिको प्रतिवेदन कार्यान्वयन गर्न पहले गर्ने उपकुलपतिले सहमति गरे पनि लागू नगरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समितिको सिफारिसअनुसार इन्र्टनका चिकित्सकहरूको तलब–भत्ता नेपाल सरकारको आठौं तहका मेडिकल अफिसरको तलवको कम्तीमा ५० प्रतिशत बराबर कायम गर्न जोडदार माग गरेका छन् ।
यसक्रममा बुधबार उनीहरू शान्तिपूर्वक ¥याली निकालेका छन् । माग सम्बोधन गर्न भन्दै प्रतिष्ठान प्रशासनलाई जेठ १० गतेसम्मको अल्टिमेटम दिएका थिए । तर, अल्टिमेटमप्रति सुनुवाइतर्फ अगाडि नबढेकाले र्याली निकालिएको डा. बरालले बताए ।
अर्को चरण अन्तर्गत जेठ १२ गते सम्पूर्ण काम छाडेर आन्दोलनमा होमिनेसमेत उनले बताए । र्यालीमा जुनियर रेजिडेन्ट, फ्याकल्टी र विद्यार्थीहरू पनि सहभागी भएका थिए । प्रतिष्ठानमा हाल एक सयजना इन्टर्न डाक्टर रहेका छन् ।