पाँचथर । पाँचथरको दक्षिणी गाउँपालिकामा दुई परिवारका नौं जनाको हत्या भएको स्थानबाट दुई घण्टाको दूरीमा झुण्डिएको अवस्थामा ज्वाइँ भेटिएपछि उनैबाट हत्या भएको प्रहरीले प्रारम्भिक निश्कर्ष निकालेको छ ।

झुण्डिएको अवस्थामा हत्या गरिएका बमप्रसाद फियाकको कान्छा ज्वाइँ मानबहादुर माखिम फेला परेका थिए । झुण्डिएको स्थान मिक्लाजुङ गाउँपालिका–८ क्षेत्रमा रगत लतपतिएको खुकुरी र लत्ताकपडा बरामद भएको प्रहरीले जनाएको छ । यही नै प्रहरीका लागि प्रारम्भिक निश्कर्षको पहिलो आधार बनाएको छ । किनकी माखिम र बमबहादुरकी कान्छी छोरी मनकुमारी फियाकबीच केही समययता ‘सम्बन्धबिच्छेद’ को विवाद चुलिँदै आएको थियो ।

मनकुमारी सम्बन्धबिच्छेद गर्ने पक्षमा थिइन् भने मानबहादुर त्यसको विपक्षमा उभिदै आएको जानकारहरू बताउँछन् । करिब ढेड वर्षदेखि चल्दै आएको यो प्रक्रिया सम्बन्धबिच्छेदको किनारा लाग्ने अवस्थामा रहेको परिवार निकट स्रोत जनाउँछ । यो घटनापूर्व पनि हत्या गरिएकामध्ये साढुँदाइ धनराज शेर्माको घरमा घरेलु तथा साना उद्योगले गरेको ढाका बुन्ने तालिमका सहभागीलाई खाना खुवाउन कार्यक्रममा नूनमा सिसाका कण मिसावट गरिएको थियो ।

त्यो घटनामा संलग्न दोषीलाई हालसम्म प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । लगत्तै सामुहिक हत्या भएपछि भने प्रहरी तरङ्गित बनेको छ । सोमबार राति बमबहादुर घरका चार जना र जेठा ज्वाइँ धनराज शेर्माको घरका ५ जनाको हत्या भएको थियो । सामुहिक हत्याका पछाडि माखिममात्रै छन् कि अन्य पनि छन् भन्ने विषयमा प्रहरीले सूक्ष्म अध्ययन थालेको छ ।

त्यसका लागि केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोली नै घटनास्थल पुगेर अनुसन्धान अगाडि बढाएको छ । हत्याबाट ज्यान जोगाउन सफल १२ वर्षीया सीता खजुम (बमप्रसादका साइँली छोरीको जेठी छोरी) को बयानका आधारमा ‘नकाबधारी’ ले धारिलो हतियारले हत्या गर्न थालेपछि आफू भागेको बताएकी छन् । घटनाका शङ्कास्पद ‘मानबहादुर माखिम’ आत्महत्या गरेपछि भने घटना थप रहस्यमय बन्न पुगेको छ ।