पाँचथर । हिलिहाङ–४, की १५ बर्षिया शितल योङहाङ हत्याका मूख्य योजनाकारलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै सोमबार सदरमुकाम फिदिममा बिद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
घटना घटेको एक साता बितिसक्दा पनि हत्याका मूख्य योजनाकार पक्राउ नपरेको भन्दै बिद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
बिद्यार्थीहरुले फिदिम बजार परिक्रम गरी जिल्ला प्रहरी कार्यालय अगाडि पुगेर कोणसभा गरेका थिए । हिलिहाङ–४, पञ्चमीस्थित सिद्ध मावि कक्षा–१० मा अध्ययनरत शितलको वैशाख २९ गते उनकै प्रेमी फाल्गुनन्द–२, पात्ले भञ्ज्याङका २० बर्षिय पदम तामाङ र उनको साथी भगिरथ बाँस्तोलाले घाँटि रेटि हत्या गरेका थिए ।
हत्यामा संलग्न बाँस्तोला पक्राउ परे पनि मूख्य योजनाकार पदम भने हालसम्म पनि फरार रहेका छन् । उनको खोजिकार्य जारी रहेको प्रहरीको भनाई छ । विद्यार्थीहरुले हत्या गरेर भागेका हत्यारा एक साता बित्दा पनि पक्राउ नपर्नु दुःखद भएको बताएका छन् । उनीहरुले पक्राउ परेका बाँस्तोलालाई कडा कारबाही गर्न र हत्याका नाइके तामाङलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न माग गरेका छन् ।