धनकुटा/ जिल्ला कारागार धनकुटामा विभिन्न आभियोगमा कैद भुक्तान गरिरहेका कैदी–बन्दीहरूमाथि विगत लामो समयदेखि शोषण गरिरहेका त्यहाँ कार्यरत चौकीदार भेषे भनिने देवराज अधिकारीलाई कारगार प्रशासनले शुक्रबार स्थानान्तरण गरेको छ ।
कैद भुक्तान गरिरहेका चौकीदार डिल्लीप्रसाद अधिकारीको नाममा पहिल्यै निवर्तमान भइसकेका चौकीदार अधिकारीले चौकीदारीको काम गर्दै आएका थिए ।

अधिकारीले सही जिम्मेवारी पाएका डिल्लीप्रसाद अधिकारीलाई मासिक ५ हजार रुपैयाँ दिएर देवराजले चौकीदारको काम गरिरहेको पनि खुल्न आएको छ । अधिकारीले कारागारमा रहेका कैदी–बन्दीहरूले आफूहरूमाथि शोषण तथा दमन गरेको आरोप लगाउँदै आन्दोलन गरेका थिए ।

कारागारमा रहेका ७० जना कैदीबन्दीले आफूहरूमाथि लामो समयदेखि दमन र शोषण गरेको, गर्मी र जाडोमा पाउने स्केल दुरुपयोग गरेको, जेलभित्र निषेध गरिएका खैनी, जाँड–रक्सी, चुरोट, लागूपदार्थ लगायतका वस्तुहरूको कारोबार गरेर आर्थिक लाभ लिने गरेकोसमेत आरोप लगाउँदै कारागारभित्रै पत्रकार सम्मेलन गरेर आफूहरू उत्पीडन तथा शोषणमा परिरहेको घटना सार्वजनिक गरेका थिए ।

कर्तव्य ज्यान मुद्दामा ०६९ सालमा जेल परेका देवराज अधिकारी ७ वर्षअघि वीरगञ्ज कारागारबाट धनकुटा सरुवा भएर आएका थिए । त्यसैगरी कारगारभित्र गुट–उपगुट सिर्जना गर्ने, कैदी–बन्दीहरूलाई उकास्ने र विभिन्न खाले समस्या सिर्जना गर्ने काममा लागेका झुम्का कारागारबाट केही महिनाअघि मात्र सरुवा भई आएका दिलकुमार राईलाई विराटनगर सरुवा गरिएको छ । राई कर्तव्य ज्यानमुद्दाका अभियुक्त हुन् । त्यसैगरी अर्का कैदी बाबु भनिने चन्द्रकुमार चौधरीलाई पनि सोही अभियोगमा जिल्ला कारागार धनकुटाबाट विराटनगर कारागारमा सरुवा गरिएको छ ।

उनी झापा कारागारबाट ९ महिनाअघि सरुवा भई धनकुटा आएका थिए । चौधरी भने चोरी, लुटपाट र डाका मुद्दामा कैद भुक्तान गरिरहेका छन् । कारगारभित्रका कैदीबन्दीहरूले विरोध गरेपछि स्थानान्तरण भएका चौकीदार देवराज अधिकारीको स्थानमा कर्तव्य ज्यानमुद्दामा ५ वर्ष अघिदेखि कैद भुक्तान गरिरहेका धनकुटा ६ नं.बुधबारेका विष्णु आले मगरलाई पुनः नयाँ चौकीदार चयन गरिएको जिल्ला कारागार धनकुटाका निमित्त जेलर टङ्कबहादुर श्रेष्ठले बताए । आलेले ५ वर्ष कैद भुक्तान गरिसकेको र अब १५ वर्ष लामो कैद भुक्तान गर्न बाँकी रहेको जेलर श्रेष्ठले बताए ।

उनले जिल्ला सुरक्षा समितिले केन्द्रीय कारगार विभागमा कैदीबन्दीहरूको स्थानान्तरणको लागि पठाएको नामावलीमध्ये हाललाई ३ जनाको मात्र सिफारिस भई आएको बताए । सिफारिस भई गएका केही कैदीबन्दीहरूको स्थानान्तरणको लागि केन्द्रबाट सिफारिस भई नआएको जेलर श्रेष्ठले बताएका छन् । सो विषयमा प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीसँग जिज्ञासा राख्दा जिल्ला कारागारका कैदीबन्दीहरूको समस्याको बारेमा महिनामा २ पटक अनुगमन गर्ने गरिएको बताए ।

प्रजिअ कार्कीले विशेषगरी जेलभित्र खानेपानी, विजुली र उनीहरूको दैनिक अवस्थाको बारेमा अनुगमन गर्ने गरेको बताए । पछिल्लो समयमा प्रदेश सरकारबाट पनि २ पटक अनुगमन भइसकेको, उच्च अदालत विराटनगर धनकुटा इजलासबाट पनि २ पटक, महान्यायाधीवक्ताको कार्यालय धनकुटाबाट पनि २ पटक अनुगमन भइसकेको प्रजिअ कार्कीले बताए । उनले एकैजनालाई लामो समयसम्म जेलभित्र चौकीदार दिँदा कैदीबन्दीहरूमाथि दादागिरी गर्ने भएकाले पछिल्लो समयमा १–१ वर्षमा कारागारभित्र चौकीदार फेर्नुपर्ने नियम बनाइएको बताए ।  

स्थानान्तरण भई गएका चौकीदार अधिकारीले कारागारभित्र कानूनीरूपमा प्रतिबन्धित मोबाइल, खैनीको प्याकेट, महँगा रक्सी, चुरोट भिœयाउने गरेको र महँगो मूल्य लिने गरेको कैदीबन्दीहरूले आरोप लगाएका थिए । साथै आफू शक्तिशाली भएको भन्दै कैदीबन्दीहरूलाई धाकधम्कीसमेत दिने गरेको अधिकारीमाथि आरोप थियो ।