धरान/ यौनधन्दा चलाएको आरोपमा प्रहरीले धरानका चारजना होटल सञ्चालकलाई पक्राउ गरेको छ ।

प्रहरीले ती होटलबाट ६ जना महिलाको उद्धार समेत गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय धरानले धरान–७ स्थित होटल एवानका सञ्चालक दीपेन्द्र श्रेष्ठ, धरान–१२ स्थित होटल साकेलाका सञ्चालक खिसाबहादुर राई, धरान– ७ घर भई परेली होटलका सञ्चालक लीलाबहादुर बस्नेत र धरान–१५ घर भई धरान–१२ चतरालाइनस्थित फाइन होटलका सञ्चालक नवीन मगरलाई पक्राउ गरेको हो ।

प्रहरीले होटल एवानबाट २ जना, होटल साकेलाबाट १ जना, परेली होटलबाट १ जना र फाइन होटलबाट २ जना पीडितको उद्धार गरेको जनाएको छ । शनिबार पक्राउ परेका उनीहरूलाई आइतबार सार्वजनिक गरिएको हो । 

प्रहरीका अनुसार सङ्खुवासभा, धरान, चतरा र झापाका १८ देखि २३ वर्ष उमेरका युवतीहरूलाई होटल सञ्चालकले यौनधन्दामा लगाउने र ५ सयदेखि १५ सयसम्म दिने गरेका थिए । पक्राउ परेकाहरूलाई मानव बेचबिखन कसूरमा मुद्दा दायर गरी सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।