बिर्तामोड । झापाको धुलाबारीमा एक साताअघि भएको दुर्घटनाका चालक र सवारी साधनलाई प्रहरीले कारबाही नगरी भगाएकाे पीडितले अाराेप लगाएका छन् ।
प्रहरीसँगको मिलेमतोमा चालक र भारतीय मालबाहक टूकलाई भगाएको दुर्घटनाका पीडितको आरोप छ । दुर्घटना पीडित डाक्टर दीपक पौडेलले प्रहरीले आफूमाथि अन्याय गरेको आरोप लगाए । बालरोग बिषेशज्ञ उनी धुलाबारीमा कार्यरत छन् । दुर्घटना भएपछि उजुरी लिएर जाँदा प्रहरीले दर्ता गर्न नमानेको पौडेलको आरोप छ ।
वैशाख ३० गते धुलाबारीबाट बिर्तामोड आउँदै गर्दा धुलाबारी नजिकै डाक्टर सवार बा १२ च ३४३६ नम्बरको कार भारतीय मालवाहक टूकसँग ठक्कर खाएको थियो । ठक्करपछि धुलाबारी प्रहरीले नियन्त्रणमा लिएको दुइवटै सवारी साधनमध्ये भारतीय ट्रकलाई त्यसको अर्काे दिन छोडेको डाक्टर पौडेलले बताए ।
पीडितका अनुसार उनको दायाँ हातमा सामान्य चोट लागेको छ भने उनी सवार कारमा क्षति पुगेको छ । कार मर्मत गर्न १० देखि १२ लाख रुपैयाँ खर्च आउने पौडेलले बताए । उनले दुर्घटनामा संलग्न सवारी साधनलाई बिना सहमति छोडिनु नहुने समेत बताए । ‘मैले निवेदन दर्ता गर्दा गर्दै ट्रक छोडियो, पौडेलले भने, ‘प्रहरीको यसमा मिलेमतो भएको हुनुपर्छ ।’
इप्रका धुलाबारीका प्रहरी निरीक्षक टिकाबहादुर कार्कीले दुर्घटनामा डाक्टर पौडेल सवार कारकै गल्ती भएको आरोप लगाए । छलफल गरेर पौडेलकै सहमतिमा टूक छोडेको दाबी पनि उनले गरे । ‘भारतीय ट्रक भए पनि त्यसको साँहु नेपाली हो, कार्कीले भने, ‘हामीले बोलाएको समयमा उपस्थित हुने सर्तमा छोडेका हौं ।’ उनले बोलाएको समयमा उपस्थित हुने सर्तमा छोडेको भने पनि शनिबार तय भएको छलफलमा ट्रक साँहु नआएको बताए ।