भण्टाबारी/ दाइजो नल्याएको भन्दै कोशी गाउँपालिका–७ स्थित हरिपुरका २४ वर्षीय रविन्द्रकुमार यादवले आफ्नी २० वर्षीया श्रीमती रुक्मनी यादवलाई दाइजोको निहुँमा हँसियाले डामेका छन् ।
रविन्द्रले एकवर्षअघि हरिनगर गाउँपालिका–५ वसन्तपुरकी रुक्मनीसँग विवाह गरेका थिए । विहेको समयमा आफूले दाइजोमा मागेको मोटरसाइकल श्रीमतीको माइती पक्षले नदिएको भन्दै रुक्मनीलाई रविन्द्रले यातना दिँदै आएको रुक्मनीकी काकी निर्मलादेवी यादवले बताइन् । रुक्मनी दिदीबहिनीको विहे हरिपुरका दाजुभाइ अरविन्द्र र रविन्द्रसँग एउटै परिवारमा भएको हो ।
केही समयअघि रुक्मनी र उनका श्रीमान् विहेमा माइत आएको र दिदीलाई आउन नदिएपछि श्रीमान्सँग रुक्मनीको विवाद भएको निर्मला देवीले बताइन् । उनले भनिन्, ‘रुक्मनीकी दिदी पिङ्की यादवलाई विहेमा आउन नदिएकोमा श्रीमान्–श्रीमतीबीच विवाद भयो । विवादका बीच रुक्मनी घर गएपछि उनका श्रीमान्ले कुटपिट गरे ।’
सामान्य विवाद भएपछि रविन्द्रले दाइजोमा मोटरसाइकल नपाएको कारण रुक्मनीलाई हँसियाले अनुहार, हात र खुट्टामा डामे । बहिनीलाई बचाउन जाँदा पिङ्की्लाई पनि रविन्द्रले कुटपिट गरेको निर्मलाले बताइन् । पछि दिदीबहिनीलाई स्थानीयले रविीद्रबाट जोगाएको बताउँदै निर्मलाले भनिन्, ‘दाइजो लिने भए रविन्द्रले ससुरालीमा भन्नुपथ्र्यो । श्रीमतीलाई कुटपिट गर्नु गलत हो ।’ पटक–पटक महिलालाई कुटपिट गर्नेलाई सजाय हुनुपर्ने रुक्मनीकी काकी निर्मलाले बताइन् । श्रीमान्ले कुटपिट गरेको ५ दिनपछि माइती पक्षले हरिपुर अस्थायी प्रहरी चौकीमा उजुरी गरेको थियो ।
कोशी गाउँपालिका–७ का वडाअध्यक्ष रामचन्द्र महतोले प्रहरीमा खबर आएपछि जानकारी पाएको बताए । आफूले बुझ्दा केटीले यातना दिने श्रीमान् रविन्द्रसँग आफू नबस्ने भन्ने गरेको बताए । केटापक्ष सामाजिक छलफलमार्फत निष्कर्षमा पुग्न तयार रहेको तर केटीका बुबाले छोरीको न्यायका लागि प्रहरीमा उजुरी गरेको बताए । दाइजो होस् वा अरु कुनै कारणले महिलालाई यातना दिनु गलत भएको वडाध्यक्ष महतोले बताए ।
जिल्ला अस्पताल इनरुवामा उपचारपछि रुक्मनी माइतीमा छिन् भने उनका श्रीमान् रविन्द्र जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा छन् । रविन्द्रमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा डिएसपी ज्ञानेन्द्रप्रसाद फुयालले बताए । दाइजोसम्बन्धी मुद्दा दर्ता गराउने भनिए पनि केटी पक्षको उजुरी र बयानका आधारमा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको डिएसपी फुयालले बताए ।
दाइजोको कारण सुनसरीमा यस्ता किसिमका समस्या आउने गरे पनि प्रहरीले पीडितको उजुरीको आधारमा नै मुद्दा दर्ता गर्ने गरेको उनले बताए । डिएसपी फुयालले सारी नकिनेको निहुँमा श्रीमती लाई हँसियाले डामेको र पिङ्की यादवलाई समेत कुटपिट गरेको देखिएकोले रविन्द्रमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको जानकारी दिए ।