पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरलाई अर्गानिक नगर बनाउन स्थानीय कृषकहरुले नगरपालिका कार्यालयको ध्यानाकर्षण गराएका छन् ।

वडा नम्वर २ मा अर्गानिक अभियानमा लागेको उत्साहि साना किसान कृषि सहकारी संस्थाकातर्फबाट अध्यक्ष धनमाया गुरुङले नगर प्रमुख दिलिपकुमार राईलाई ध्यानाकर्षणपत्र बुझाउँदै नगरले अर्गानिक नीति तयार गर्न जोड दिइन् ।

पशुपालन, अर्गानिक कृषि, जैविक तथा अर्गानिक मल, विषादी र पशु पौष्टिक आहारा, सही किसानको पहिचान गरी वर्गिकरण, अर्गानिक तालिम तथा गोष्ठीमा विशेष जोड दिनुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ । त्यसैगरी, पहेंलो पासो, जैविक विषादीका जोड दिँदै रासायनिक मल, विषादीलाई निरुत्साहित गर्न चेकजाँच मेसिनको व्यवस्था, जैविक मल एवम् प्रांगारिक खेती गर्ने किसानलाई मात्रै ५० प्रतिशत अनुदान सहितका कुरामा नगरले ध्यान दिनुपर्ने उल्लेख छ ।

कृषि सहकारीमार्फत सहुलियत दरको ऋण, छुट्टै अर्गानिक कृषि बजार, नश्ल सुधार, कृषि विज्ञबाट नियमित फिल्ड चेक सहितका १५ बुँदामा ध्यानाकर्षण गराइएको छ । उत्साहिको अगुवाईमा १ नम्वर प्रदेशका कृषि सहकारी र कृषि समूहले २ नम्वर वडामा उचित जैविक मल उद्योग स्थापना गरेर अर्गानिक अभियानको एउटा महत्वपूर्ण काम थालेको छ ।

ध्यानाकर्षणपत्र बुझिसकेपछि नगर प्रमुख राई र उपप्रमुख यमुना विष्ट वास्तोलाले १ नम्वर वडा बाहेकका ९ वटा वडा कृषिमा आधारित नगरमा अर्गानिक सहितको कृषि प्रवद्र्धन अभियान नगरपालिकाले योजना बनाउँदै जाने बताए ।