पाँचथर / जिल्लाको मिक्लाजुङ–३, आरुबोटेमा खाजा खाँदा आठ जना बिरामी परेका छन् । वैशाख ३० गते स्थानीय जस्मिता फियाकको घरमा सञ्चालन भइरहेको तीन महिने ढाका बुनाई तालिममा सहभागी महिलाहरुले खाजा खाएका थिए । खाजा खाएपछि उनीहरु बिरामी परेको बताइएको छ ।
बिरामी पर्नेमा सोही स्थानकी १७ वर्षिकी रेनुका दास, १९ वर्षिकी बिष्णु विक र सोना लिम्बू, ९ वर्षकी मुना लिम्बू, २३ वर्षिकी मनकुमारी फियाक, २२ वर्षिकी लक्ष्मी लिम्बू, १८ वर्षकी मनिषा लिम्बू र बाँकि एक जना रहेका छन् । उनीहरुमध्ये लक्ष्मी र मनिषा सिकिस्त अवस्थामा रहेका छन् । उनीहरुको जिल्लास्थित समर्पित अस्पतालमा उपचार भइरहेको छ । बाँकि सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
गैर सरकारी संस्था मिलन केन्द्र नेपालले आयोजना गरेको तालिममा सहभागि १५ जनामध्ये खाजा खाने आठ जना बिरामी परेका हुन् । बिरामी परेपछि उनीहरुले खाएको खाजामा प्रयोग गरिएको नुनमा हेर्दा सिसाका कण जस्तो वस्तु मिसाइएको भेटिएको मिलन केन्द्र नेपालका अध्यक्ष बहादुरसिं नेम्बाङले जानकारी दिए ।