धरान/आफू अष्ट्रेलियाको पिआर होल्डर भएको भन्दै नक्कली विवाह गरेर युवाहरूलाई ठगी गर्ने सुनसरीकी एक युवती काठमाडौंमा पक्राउ परेकी छन् ।
सुनसरीको बर्जु गाउँपालिका–६ घर भई केही समयदेखि काठमाडौंको बानेश्वर बस्दै आएकी २३ वर्षीया रेजिना अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले अष्ट्रेलिया लाने भन्दै पैसा लिएर तीन युवासँग नक्कली विवाह गरेको प्रहरीले जनाएको छ । रेजिनाले अष्ट्रेलिया लैजाने भनेर ठगी गरेको भन्दै काठमाडौंका अमित श्रेष्ठले प्रहरीमा उजुरी दिएका थिए । रेजिनाले अष्ट्रेलिया लाने भन्दै विवाह गरेर अमितसँग ४ लाख ५० हजार रुपैयाँ लिएकी थिइन् । तर पैसा पाएपछि उनी मोबाइल अफ गरेर सम्पर्कविहीन भएपछि अमितले प्रहरीमा उजुरी दिएका थिए ।
अनुसन्धानका क्रममा प्रहरीले रेजिनाले भक्तपुरका सागर धमलालाई पनि आफू अष्ट्रेलियाको पिआर होल्डर भएको बताउँदै अष्ट्रेलिया लैजाने आश्वासन दिएर ठगी गरेको पत्ता लगायो । धमलालाई विवाह गरेर अष्ट्रेलिया लैजाने भन्दै उनले १३ लाख ४७ हजार रुपैयाँ ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । अन्य एकजना युवकसँग पनि यसैगरी विवाह गरेर ठगी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
ठगी धन्दामा काठमाडौं बाँसबारीमा रहेको एसियन इन्टरनेशनल कन्सल्टेन्सीका निर्देशक गणेश भन्ने अरविन स्याङ्बो पनि संलग्न रहेको खुलेपछि उनलाई पनि प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।