भद्रपुर/ भारतबाट उत्पादित १८ कार्टुनमा रहेको १ सय १४ बोतल मदिराजन्य पदार्थ सशस्त्र प्रहरीले बरामद गरेको छ ।
इलामको पशुपतिनगर नाका हुँदै झापातर्फ भिœयाउँदै गरेको रक्सी प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी गण नम्बर २ झापाले जनाएको छ । २ नम्बर गण झापाबाट सादा पोसाकमा खटिएका आइन्द्र लिम्बू, हर्क गोदार थापालगायतको सशस्त्र प्रहरी टोलीले झापाको बुद्धशान्ति गाउँपालिका १ स्थित मेची राजमार्गबाट रक्सी बरामद गरेको सो कार्यालयले जनाएको छ ।
झापातर्फ आउँदै गरेको यात्रुवाहक बस चेकजाँचको क्रममा सशस्त्र प्रहरीले भारतीय सिक्किम ब्राण्डका रक्सीका बोतल बरामद गरेको सशस्त्रका डिएसपी कृष्णकुमार श्रेष्ठले जानकारी दिए । चेकजाँचको क्रममा १७ वटा साना कार्टुन र एउटा ठूलो कार्टुनमा प्याक गरेको अवस्थामा सामान बरामद गरिएको डिएसपी श्रेष्ठले बताए ।
अन्दाजी ४५ हजार रुपैयाँ बराबरको रक्सी आवश्यक कारबाहीका लागि भद्रपुरस्थित आन्तरिक राजश्व कार्यालय मेची बुझाइसकेको उनले जनाए ।