धरान  / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सहरुले विरामीको चापअनुसार नर्सहरु अपुग भएको बताएका छन् । प्रतिष्ठानमा काम गरेका नर्सहरुलाई विदेशका अस्पतालले विश्वास गर्ने भएकाले अधिकांस नर्सहरु रोजगारीका लागि विदेशका अस्पतालमा पलायन हुने भएकाले यहा“ नर्सको अभाव हुने गरेको नेपाल नर्सिङ संघका धरान इकाइका अध्यक्ष डा. उपेन्द्र यादवले बताए । 
उनले भने, ‘ प्रतिष्ठानमा हाल ८ सय शैया छ । तर अस्पतालमा ६ सय २१ नर्सको दरबन्दी मात्र छ । त्यसमा हालैमात्र १ सय २० जना थपेर ५ सय २१ जना मात्र छन् ।’ एकजना नर्सले बढीमा ६ जना विरामी हेर्नु पर्नेमा प्रतिष्ठानमा एउटैले ४० जना विरामी हुर्नु पर्ने बाध्यता छ । उनले प्रतिष्ठानका नर्सको दरबन्दी बढाउनु सके उपचारमा आएका विरामीको सेवामा गुणस्तर वृद्धि हुने बताए । 
प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले उद्घाटन गरेको अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा नर्सको भूमिका, समस्या, चुनौती र सम्भावनाकाबारेमा आफ्ना धारणा व्यक्त गरेका थिए ।
नेपाल नर्सिङ संघकी केन्द्रीय उपाध्यक्ष प्राध्यापक डा तारा साहले पछिल्लो समयमा नर्सिङ पेशामा चुनौती थपिएको बताइन् । उनले भनिन्, ‘समसामयिकरुपमा नर्सिङ पेशा अपग्रेड हुदै जानुपर्ने बेलामा सरकारले स्पस्ट निति नै बनाउन सकेको छैन । जता ततै खुलेका नर्सिङ कलेजले गुणस्तर भन्दा पनि संख्यात्मक नर्सहरु उत्पादन गर्ने काम गरेको छ ।’ नेपालमा हाल ८० हजार नर्सहरुले नेपाल नर्सिङ काउन्सिलमा दर्ता गरेका छन् । तर त्यसको एक चौथाई नर्सहरु बेरोजगार अवस्थामा रहेको कहाली लाग्दो तथ्यलाई विर्सन नहुने पनि प्रा डा साहले बताइन् ।
उनले भनिन्, ‘युवा पुस्तामा नर्सिङ पेशामा आकर्षण त बढेको छ तर सरकारले उनीहरुलाई समुचितरुपमा रोजगार दिने विषयमा संवेदनशील हुन नसक्दा लाखौं खर्च गरेर नर्स भएकाहरु अहिले निजि नर्सिङ कलेज, अस्पताल, क्लिनिकहरुमा विना परिश्रमिक स्वयम्सेवी भएर काम गर्न बाध्य छन् ।’
सबैका लागि स्वास्थ्य नाराकासाथ मनाइएको नर्सिङ दिवसमा वक्ताहरुले चिकित्सकहरुको जस्तै नर्सिङ अध्ययन अध्यापन पनि स्पेशियालाइजेसन भइरहेको बताए । अनमीदेखि स्नातकोत्तर र विद्यारिधि सम्म हुने नर्सिङ अध्ययनमा सोही अनुसार आधुनिक तौरतरिकाले पठनपाठन, तालिम र प्राविधिक शीपहरु बढाउने क्रम बढेको बेला नर्सको पेशागत नितिहरु भने बनाउन नसकेको उनीहरुले गुनासो गरेका थिए । 
                    
        
                                        
                                                                                                
        































