पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगर पूर्ण खोपयुक्त नगर घोषणा भएको अवस्थामा वर्षेनी गरिने वडा वडाको पूर्ण खोप प्रमाणिकरण अभियान यसबेला सञ्चालन भइरहेको छ ।
०७४ साल असार ३१ गते पूर्णखोप सुनिश्चित नगर घोषणापछि पूर्ण खोपको निरन्तर अवस्थाको वर्षेनी गरिने प्रमाणिकरणमा गत वर्ष पूर्ण खोपयुक्त अवस्था रहेको थियो ।
यो वर्ष पनि त्यसको अवस्था प्रमाणिकरणका लागि नगर प्रमुख दिलिपकुमार राई, वडाध्यक्ष सहितका जनप्रतिनिधि, नगर स्वास्थ्य संयोजक मुरारी आचार्य सहितका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविकाले घर घरमा गएर खोपको अवस्था बुझ्ने अभियान सञ्चालित छ । जस अन्तर्गत ७ नम्वर वडा बाहेकका ९ वटा वडामा प्रमाणिकरण अभियान सम्पन्न भएको स्वास्थ्य संयोजक मुरारी आचार्यले जनाए ।
वैशाख महिनालाई खोप महिनाका रुपमा लिँदै जन्मेका २३ महिनाभित्रका बालबालिकाले खोप लगाएको नलगाएको अवस्थाका बारेमा बुझ्ने कामा भइरहेको छ । खोप नलगाएका बालबालिका भेटिएमा उनीहरुलाई खोपकेन्द्रमा बोलाएर वैशाख २९ गते खोप लगाउने विशेष खोप कार्यक्रम छ ।
गत वर्ष नगरमा १ हजार ८ जना सवैले खोप लगाएको अवस्था प्रमाणिकरण भएको थियो ।
नगरमा नगर प्रमुख र वडामा वडाध्यक्षको संयोजकत्वमा खोप समन्वय समिति बनाई खोप अभियानलाई प्रभावकारी बनाउने काम भएको छ ।