दमक । विराटनगर जुट मिलको झापास्थित दमकमा रहेको जग्गाको विवाद फेरि सतहमा आएको छ । २०६० सालदेखि जग्गाको भाडा उठाउँदै आएका धनपाल राईले आफूले क्षतिपूर्ति बापतको कुनै रकम नपाएको भन्दै आइतबार पत्रकार सम्मेलन गरी गुनासो गरेका छन् ।

पत्रकार मञ्च दमकको कार्यालयमा पत्रकार सम्मेलन नै गराएर राईले २०६० सालदेखि २०७२ सालसम्म मिलसँगको सम्झौताअनुसार भाडा बराबरको रकम तिर्दै आएको तर अहिले मिलले आफूलाई समेत जानकारी नै नगराई जग्गाको भाडा सङ्कलन गरिरहेकोमा आपत्ति जनाएका हुन् । तत्कालीन समयमा करिब १० लाख रुपैयाँ खर्च गरेर जग्गाको संरक्षण गरी टहरा निर्माण गराएर आफूले भाडा लगाएको तर आफूले गरेको खर्चको बेवास्ता गरी मिलले आफूखुशी भाडा आफै उठाउने गरेको उनको भनाइ छ ।

९ कठ्ठा सवा सात धर क्षेत्रमा फैलिएको मिलको जग्गामा हाल ६ वटा विभिन्न टहरा बनाएर भाडामा लगाइएको छ । मिलको जग्गा भए पनि राईले आफूले भोगाधिकार पाएको र त्यस बापतको शुल्कसमेत आफूले तिर्दै आएको दाबी राईले गरेका छन् ।

मिलले यो जग्गाको विवादमा नपर्न र करार भङ्ग भएको राईलाई पटक–पटक पत्राचार गर्दासमेत बेवास्ता गरेपछि जिल्ला अदालत झापामा २०७२ सालमा मुद्दासमेत हालिएको थियो । अदालतले २०७५ साल भदौ जिल्ला अदालतले समेत मिलकै पक्षमा फैसला गरेपछि उनी पुनरावेदन, हुँदै सर्वोच्च अदालतसम्म पुगेर भए पनि आफ्नो क्षतिपूर्ति बराबरको माग पूरा गरेरै छोड्ने बताएका छन् ।

‘कि मेरो लगानी बराबरको क्षतिपूर्ति दिनुप¥यो, कि त पुनः मलाई नै भाडामा दिनुपर्यो, म मिलले भनेबमोजिमको भाडा तिर्न तयार छ’–राईले पत्रकार सम्मेलनमा भने ।