धरान । धरानमा आज (सोमबार) बाट शुरु हुने भनिएको नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को ४८ औं केन्द्रीय महाधिवेशन अन्यौलमा परेको छ ।
महाधिवेशन स्थगित गर्न प्रशासनले निर्देशन जारी गरेपछि आइतबार राति अवेरसम्म बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले निकालेको निष्कर्ष सोमबार सहभागी सदस्यलाई सुनाउने र सोहीअनुसार अवधारणा बनाउने तयारी भएको छ ।
मुलुकभर १० लाख ७६ हजार ७ सय ९८ सदस्य रहेको नेरेसोले केन्द्रीय गोदाम घर निर्माणका लागि जग्गा खरिदमा आर्थिक अनियमितता, केन्द्रीय रक्तसञ्चार केन्द्रको भवन निर्माणमा अपरादर्शिता र विभिन्न जिल्लामा भएका भ्रष्टाचारको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि छानबिन र अनुसन्धान भइरहेको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले नेपाल रेडक्रस सोसाइटीको ४८ औं महाधिवेशन रोक्न निर्देशन जारी गरेपछि अन्यौल भएको हो । नेरेसोले सोमबारदेखि तीनदिनसम्म महाधिवेशन गर्न सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको थियो । महाधिवेशनले आगामी दुई वर्षका लागि ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने बताइएको थियो ।
रेडक्रसका महामन्त्री देवरत्न धाख्वाले आकस्मिक बैठकले महाधिवेशन रोक्ने बारे प्रशासनले पठाएको पत्रबारे आज(सोमबार) सभाहलमा सबैलाई जानकारी गराउने बताए । उनले महाधिवेशनका लागि जिल्ला प्रतिनिधिहरू आइसकेको अवस्थामा अचानक प्रशासनले रोक्न निर्देशन दिएकाले अन्यौल सिर्जना भएको बताए । नेरेसोका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले महाधिवेशनले महाधिवेशनले आगामी वर्षका लागि ३ अर्ब ६६ करोड रुपैयाँ बजेट प्रस्ताव गर्ने तयारी गरेको बताएका थिए ।