भद्रपुर / झापाको हल्दीबारी ४ नम्बर वडाले व्यवसायिक कृषि उत्पादन अनुदान वितरण गरेको छ ।
दोस्रो गाउँ सभाबाट अनुमोदित कार्यक्रम अन्र्तगत कृषक अनुदानमा च्याउ , बाख्रापालन, तरकारी खेती र महिला सवलीकरणमा स्वयमसेवीकालाई साइकल वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
वडाले च्याउ खेती अनुदानमा ४ जनालाई प्रति कृषक २५ हजार, बाख्रापालनमा ३ जना कृषकलाई ३० हजार र १ जनालाई १० हजार, तरकारी खेतीतर्फ ए ग्रेडका ३ जनालाई प्रति किसान १८ हजार, बी ग्रेडका ३ जनालाई प्रति किसान १२ हजार, सी ग्रेडका ९ जनालाई प्रति किसान ७ हजारका दरले आइतबार चेक हस्तान्तरण गरेको जनाएको छ । यसैगरी समाज सेवा तथा महिला सवलीकरण अन्र्तगत वडामा रहेका ५ जना महिला स्वास्थ्य स्वयमसेवीकालाई पाँच थान साइकल समेत प्रदान गरिएको वडा सदस्य महेशलाल मेचेले जनाए ।
समृद्ध हल्दिबारी अभियान सफल बनाउन व्यवसायिक कृषिका लागि अनुदानको नीति लिइएको वडाअध्यक्ष होमप्रसाद चुडालले बताए । उनले समग्र वडाका लागि ४० लाख रकम विनियोजित भए पनि वडाका विकासका लागि सडक, पुल पुलेसा मात्र नभएर वडाबासीको जीवनस्तर उकास्न व्यवसायिक कृषि विकासको आवश्यकता महसुस गरिएको जानकारी दिए ।
नागरिकको घरदैलोको सरकारका रूपमा स्थानीय सरकार रहेको भन्दै भौतिक पूर्वाधार विकाससित नागरिकको जीवनस्तर उकास्न कृषि तथा पशुपालनमा जोड दिएको वडाध्यक्ष चुडाले बताए । कृषि क्षेत्र उन्नत नभएसम्म समृद्धिको ढोका खुल्न नसक्ने उनको भनाइ छ ।
अनुदान पाएका कृषक सीता न्यौपाने, बाख्रापालक सुनिल मेचे ,तरकारी कृषक श्यामलाल मेचेले अनुदानले कृषि व्यवसायमा उत्साह ल्याएको जनाएका छन् ।