धरान / सातौं आरती स्ट्रिप्स नेवा च्यारिटी १० के रनबाट ७ लाख रुपैयाँभन्दा बढी नाफा गर्न सफल भएको छ ।

नेवा रन समूहले धरानमा शनिबार पत्रकार सम्मेलन गर्दै आय–व्यय सार्वजनिक गर्ने क्रममा ७ लाख ७७ हजार ६२ रुपैयाँ मुनाफा भएको जनाएको छ । नेवा च्यारिटीबाट १९ लाख ७१ हजार सात सय ३६ रुपैयाँ आम्दानी भएको समूहका अध्यक्ष रमु राईले बताए । त्यसमध्ये चार लाख रुपैयाँ नेवा एजुकेशन फण्डमा जम्मा गरिएको छ ।

यसवर्ष नेवा एजुकेसन फण्डमार्फत् धरानका १५ वटा सामुदायिक विद्यालयका विपन्न तथा आर्थिक अवस्था न्यून भएका २४ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ । शनिबारै आठौं वार्षिकोत्सव मनाउने क्रममा विद्यार्थीहरूलाई छात्रवृति प्रदान गरिएको हो । उनीहरूलाई पढाइ खर्च, शैक्षिक सामग्री, पोसाकलगायतका सामग्री प्रदान गरिएको छ ।

समूहले शनिबारै गरेको रक्तदान कार्यक्रममा ६७ युनिट रगत सङ्कलन गरेको छ । जिल्ला रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । समूहले ४ सय १७ हप्ता ‘धरान रन’ पूरा गरेको छ । रनमा ४ सय जनाभन्दा बढी सहभागी भएको समूहले जनाएको छ । समूहले मृगौला पीडित पत्रकार तथा रङ्गकर्मी प्रवीण राईलाई १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

च्यारिटीबाट सङ्कलित रकममध्ये ‘नेवा हेल्थ फण्ड’ मा समेत जम्मा गरिएको छ । नेवा एजुकेशन फण्डमा हाल १० लाख रुपैयाँ पुगेको छ । उक्त रकमको ब्याजबाट हरेक वर्ष विद्यार्थीहरूलाई छात्रवृति प्रदान गर्दै आएको छ ।