भद्रपुर । झापा जिल्लामा पहिलो पटक वातावरण मैत्री सिएलसी इँटा उद्योगले भद्रपुरबाट उत्पादन शुरू गरेको छ ।
लक्ष्य बृक एण्ड मेटल इण्डष्ट्रिज भद्रपुर ७ ले जर्मनी रसायन सहित स्तरीय पर्यावरणमैत्री मेसिनबाट सिएलसी इँटा उत्पादन शुरू गरेको हो ।
युवा व्यवसायी दीपबहादुर श्रेष्ठ, सञ्जय श्रेष्ठ, दिपेन्द्रकुमार कार्की र अनुसा बानियाँले साढे दुइ करोड रुपैयाँको लगानीमा शुरू गरेको उद्योगबाट पेवरब्लक, सिएलसी ब्लक नामका इँटा उत्पादन गरिरहेको सञ्चालक सञ्जय श्रेष्ठले जानकारी दिए । वातावरण मैत्री, उच्च तापवान क्षमता सहित कम खर्चिलो इँटा रहेको उनले दाबी गरे ।
घर, अस्पताल, विद्यालय लगायत संरचना निर्माणमा किफायती र दरिलो हुने सिएलसी ब्लक उच्च स्तरीय मेसिनको सहयतामा निर्माण हुने गरेको सञ्चालन समितिका अध्यक्ष दीपबहादुर श्रेष्ठले बताए । उत्पादित इँटालाइ हाल झापाभरी बिक्री वितरण गरिने उद्योगले जनाएको छ ।
उद्योगबाट इँटा बाहेक टायल्स, ब्लक जस्ता उत्पादन समेत हुने गरेको उनको भनाइ छ । ३१ जना श्रमिकले उद्योग परिसर भित्र रोजगारी पाइरहेका छन् भने प्रत्यक्ष अप्रत्यक्ष गरी ६० जना बढीले रोजगार पाइरहेको उद्योगले जनाएको छ ।
दैनिक ५ हजार इँटा उत्पादन हुने सो उद्योगबाट ११ प्रकारका उत्पादन हुने गरेको जनाइएको छ । माटोबाट उत्पादन हुने इँटाले वातावरण असर गर्ने र लागत मूल्य पनि महङ्गो पर्ने भएकोले पछिल्लो समय यस्ता प्रविधियुक्त इँटा उत्पादन प्रति उद्योगीहरु आकृषित हुन थालेका छन् ।