विराटनगर/ नेपालमा क्षयरोगबाट बर्सेनी सात हजार मानिसको मृत्यु हुने गरेको छ । नेपाल क्षयरोग निवारण संस्था विराटनगर शाखाका कार्यक्रम संयोजक घनश्याम कोइरालाले जनचेतनाको अभावका कारण बर्सेनी सो सङ्ख्यामा मानिसको मृत्यु हुने गरेको जानकारी दिए ।
यसरी मृत्यु हुनेको सङ्ख्या प्रत्येक वर्ष वृद्धि हुँदै गइरहेको र हालको तथ्याङ्कअनुसार ८० हजार क्षयरोगीले उपचार गराइरहेको जानकारी दिँदै उनले यस्ता रोगीको सङ्ख्या प्रत्येक वर्ष ४० हजारका दरले थप भइरहेको बताए ।
समयमा उपचार नगराउने, खानपानमा हेल्चेक्र्याइँ, जनचेतनाको कमी, पूरा समय औषधि सेवन नगर्नाले मृत्युदर र रोगीको सङ्ख्यामा वृद्धि भइरहेको हो । एक क्षयरोगीले उपचार नगराउँदा १५ जनासम्मलाई सार्ने सम्भावना हुन्छ । औषधि सेवन गरेमा यो रोग ९१ प्रतिशत निको हुने संयोजक कोइरालाको भनाइ थियो ।
क्षयरोगका बिरामीलाई निःशुल्क औषधि वितरण गरिँदै आएको र औषधि अभाव नरहेको जनाइएको छ । विराटनगर महानगरपालिकामा गत आर्थिक वर्षमा २ सय ५१ क्षयरोगका बिरामी भेटिएका थिए । बजेटको अभाव र सबै जिल्लामा तथा स्वास्थ्य संस्थामा क्षयरोग निवारणसम्बन्धी कार्यक्रम नभएकाले यो रोग नियन्त्रणमा कठिन भएको संयोजक कोइरालाको भनाइ थियो ।