भद्रपुर / भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन कागजी प्रक्रिया मिलाइ दिने जनप्रतिनिधि, कर्मचारीसहित स्थानीयको नाममा झापा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
भारतीय नागरिक ३५ वर्षीय भुपाल गुरुङलाई नागरिकता बनाउन सहयोग पु¥याउन सर्जिमिनमा बस्ने स्थानीय, जन्मदर्ता बनाइदिने जनप्रतिनिधि र कर्मचारीको नाममा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भुपाललाई नागरिकता बनाउन सहयोग पुर्याउने काममा फेला परेको कागजात अनुसार वडाध्यक्ष, वडा सदस्य, वडा सचिव, कर्मचारी र स्थानीय गरी १० जनाको नाम उल्लेख छ । भुपालको जन्मदर्ता बनाउन स्थानीयले सहीछाप गरेको मुचुल्कामा कचनकवल–२ का कविदास गुरुङ, कविता गुरुङ, सोही ठाउँका गङ्गाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना, शिवकुमार दाहाल, वडा सदस्य धनबहादुर गुरुङ, वडा कर्मचारी खगेन्द्रप्रसाद खतिवडा, वडा सचिव हरिप्रसाद गौतम र जन्मदर्ता र वंशजको नागरिकता बनाउने मुचुल्कामा सहि गर्ने वडाध्यक्ष मेखबहादुर भट्टराईलाइ पक्राउ पुर्जी जारी गरेको हो । उनीहरुलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय बनियानीलाई पत्रचार गरिसकेको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । भुपाललाइ वैशाख ११ गते दोहोरो नागरिकता लिने प्रयास सम्बन्धी मुद्दा दर्ता गराइसकिएको उनको भनाइ छ ।