विराटनगर / नेपाली सेनाले मात्रै चलाउँदै आएको ‘एम १६’ अत्याधुनिक हतियार मोरङको मिक्लाजुङ गाउँपालिका–६ स्थित नुनसरी–बक्राहा खोलामा फेला परेको छ । ‘प्रोपर्टी अफ युएस गभरमेन्ट’ लेखिएको हतियार खोलामा गाडिएर राखिएको अवस्थमा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
फेला परेको हतियारका धेरै पार्टपूर्जाहरु काम नलाग्ने र सडेको अवस्थामा रहेको मोरङ प्रहरीका प्रवक्ता डिएपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
प्रहरीले थोत्रो अवस्थामा फेला परेका कारण हतियार धेरै पहिलेदेखि माटोमा पुरिएको हुन सक्ने अनुमान गरेको छ । फेला परेको हतियार इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर अनुसन्धान सुरु गरिएको डिएपी श्रेष्ठले बताए । प्रहरीका अनुसार अत्याधुनिक हतियारसहित र त्यसमा लोड हुने पाँच राउण्ड गोली फेला परेको छ ।
द्वन्द्वकालमा सेनाले नेपालमा भित्राएको हतियार माओवादीले त्यही बेला सेनाबाट खोसेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । नुनसरी–बक्राहा खोलामा को १ क २४९० नम्बरको जेसिबीले उत्खनन् गरेर बालुवा र माटो निकाल्ने क्रममा पुरिएको अवस्थामा हतियार फेला परेपछि प्रहरीले खवर पाएको थियो । वातावरणीय प्रभाव मूल्यांकन गरेर यो खोलामा उत्खनन्को अनुमति दिइएको छ ।
फेला परेको हतियारले लगभग १ किलोमिटरसम्मको दूरीलाई तार्गेट गर्न सक्ने बताइएको छ । ‘अहिलेसम्म अत्याधुनिक हतियार कहाँबाट त्यहाँ पु¥याइयो भन्ने खुलेको छैन, डिएपी श्रेष्ठले भने, ‘सबै विषयलाई जोडेर अनुसन्धान थालिएको छ ।’
फेला परेको हतियारा ।