इटहरी/ इटहरी उद्योग वाणिज्य सङ्घको आसन्न निर्वाचन नजिकिएसँगै लफडा शुरु भएको छ । असार १४ गते हुने निर्वाचनमा नेकपाको तर्फबाट शैलेष विष्टको प्यानल खडा छ भने काङ्ग्रेस र राप्रपाको तर्फबाट भीम पौडेल समूह चुनावी मैदानमा छ । चुनावको मिति नजिकिँदै जाँदा दुवै पक्ष आरोप प्रत्यारोपमा उत्रिएका छन् । अहिले फर्म दर्ताको नयाँ लफडा शुरु भएको छ ।
फर्म दर्ता गर्न फर्म सञ्चालक आफै उपस्थित हुनुपर्ने बाध्यकारी नियम बनाइएपछि सङ्घ कब्जा गर्ने उद्देश्यले नयाँ फर्म दर्ता प्रक्रियामा अवरोध गरिएको भीम पौडेल प्यानलले आरोप लगाएको छ । पौडेल प्यानलले चुनावको मुखमा मनपरी गरेको भन्दै कडा प्रतिवादमा उत्रने जनाएको छ । फर्म दर्ता गराउन जो गए पनि हुने यसअघिको नियमलाई उल्लङ्घन गर्दै बहुमतको आधारमा अहिलेका वरिष्ठ उपाध्यक्ष शैलेष विष्टलगायतले आफूहरूलाई पेलेको पौडेल प्यानलका दिवस पोखरेलले बताए । ‘सबै व्यवसायी कसरी व्यस्तताका बीच फर्म दर्ता गर्न जान सक्छन्’ उनले भने, ‘अप्ठ्यारो बनाएर आफू निकटकालाई मात्रै उद्योग वाणिज्य सङ्घको सदस्य बनाउने योजना बनिरहेको छ, यसको हामी विरोध गर्छौं ।’
शनिबार भएको बैठकमा फर्म सञ्चालक र उसको परिवारको सदस्यको उपस्थितिमा मात्रै फर्म दर्ता हुने प्रस्ताव आयो । पौडेलपक्षले यस्तो व्यवस्था गरिनु अव्यवहारिक हुने भनेर नोट अफ डिसेन्ट लेख्न खोज्दासमेत लेख्न नदिइएको आरोप लगाएको छ । उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष तथा प्रदेश सांसद् लिलम बस्नेतको निर्देशनमा महासचिवले माइन्युट बोकेर हिँडेको उनीहरूको आरोप छ ।
उवासङ्घका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी शैलेश विष्टले भने पौडेलपक्षले बेकारको लफडा निकालेको बताए । उनले २०७३ सालमा नयाँ कार्यसमिति आएसँगै फर्म सञ्चालक आफै आएर फर्म दर्ता गरिरहेको दाबी गरे । उनले भने, ‘एकजनाले ५० औं फर्म लिएर आउने र दर्ता गर्ने परिपाटीले समस्या भएपछि फर्म सञ्चालक आफै आउनुपर्ने नियम बनाइएको हो ।’
लफडा भएपछि सङ्घका अध्यक्ष लिलम बस्नेतले निर्वाचन स्वच्छ हुनुपर्ने भनेर आफूहरूले प्रस्ताव लगेको तर पौडेलपक्ष छलफलै नगरी उठेर हिँडेको बताए । उनले भने, ‘अध्यक्षले निर्णय प्रमाणित गरेको २ घण्टापछि नोट अफ डिसेन्ट लेख्छौं भन्दै फोन गर्नुभो त्यसलाई हामीले मानेनौं ।’
चुनावका मुखमा लफडा ननिकाल्न लिलमले आग्रहसमेत गरेका छन् । उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचन असार १४ गते हुँदैछ । जेठ १० गतेभित्रमा फर्म नवीकरण र दर्ता गरिसक्नु पर्ने उवासङ्घले जनाएको छ ।