पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरे १ को रिना वस्नेत मृत्यु प्रकरणको चाँडोभन्दा चाँडो निष्पक्ष छानविनको माग गर्दै पथरीशनिश्चरेका महिलाहरुले शनिवार नारावाजी गर्दै प्रहरीमा ध्यानाकर्ष पत्र बुझाएका छन् ।
नगर महिला फेडेरेसन र पथरी वहुमुखी क्याम्पसका विद्यार्थीहरुले दिउँसो रत्नचोकबाट नारावाजी गर्दै वजारलाईन हुँदै इलाका प्रहरी कार्यालयमा पुगेर ध्यानाकर्षणपत्र बुझाएका थिए ।
कार्यक्रममा प्रदेशसभा सांसद कृष्णकुमारी राई, पथरी वहुमुखी क्याम्पसकी स्ववियु उपाध्यक्ष निता कुलुङ राईले चाँडो भन्दा चाँडो निष्पक्ष छानविन गरी दोषीमाथि कडा कारवाहीका लागि प्रहरीको सक्रियताको माग गरेका हुन । पथरी उद्योग वाणिज्य संघ सहितका संघ संस्थाहरुले रिना रहस्यमय मृत्यु प्रकरणको चुस्त छानविनको माग गर्दै संघर्ष समितिसमेत खडा गरेर दवावमुलक आन्दोलनका गतिविधि गर्दै आएको छ ।
वैशाख ७ गते विहान आफ्नो डेरा अगाडीको सडकमा व्यवसायी रिनाको शव निर्वस्त्र अवस्थामा फेला परेको थियो । सो घटनामा रिनाका प्रेमी भनिएका कमल नेपाललाई नियन्त्रणमा लिई अनुसन्धान कारवाही अगाडि बढाएको र दर्जनौंसँग सोधपुछ गरिरहेको अनुसन्धानमा खटिएका डीएसपी नवराज ढुंगानाले जनाउँदै आएका छन् ।
पोलिग्राफको प्रयोग
डिएसपी ढुंगानाले अपराधलाई सुक्ष्म तरिकाले अनुसन्धान गर्दै अपराधी पत्ता लगाउन पोलिग्राफ मेसिनकोसमेत प्रयोग थालेको जनाए । उनले अनुसन्धानका लागि ल्याइएकाहरुलाई साँचो या झुटो कुरा पत्ता लगाउने सो मेसिनको प्रयोग गरिएको सुनाए । कतिपयलाई दिनभरी प्रहरी कार्यालयमा अनुसन्धानमा राखेर बेलुका घर पठाउने र विहान फेरि बोलाउने समेत गरिएको वताए । उनले पोष्टमार्टमको प्रारम्भिक रिपोर्टले माथिबाट बजारिएर रिनाको मृत्यु भएको देखाए पनि भिसेरासहितका ल्यावका एक मुष्ठ रिपोर्ट समेत पर्खिरहेको उल्लेख गरे । उनले एकमुष्ठ रिपोर्ट र बाँकी अनुसन्धानले अन्तिम रुप दिने वताए ।