विराटनगर (ब्लाष्ट) मोरङको पथरीशनिश्चरेकी रिना बस्नेतको मृत्युबारे केही सञ्चारमाध्यममा भ्रमपूर्ण समाचार प्रकाशित तथा प्रशारित भएकोमा प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पथरीशनिश्चरे–१ की बस्नेतको मृत्युको विषयलाई लिएर केही अनलाइन मिडियाहरूमा अतिरञ्जित ‘हेडलाइन’ दिएर प्रकाशन भएको समाचारहरूप्रति जिल्ला प्रहरी कार्यालय मोरङले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । घटनाको सूक्ष्म अनुसन्धान भइरहेको विषयमा ‘मृतकको लाश सो घटनास्थलमा ठेलामा राखी फालेको सिसीटिभीमा देखियो’ जस्ता शीर्षक राखेर तथ्यहीन, कपोकल्पित र मनगणन्ते तवरबाट समाचार प्रकाशन गर्दा यसले आम जनमानसले सत्य–तथ्य समाचार प्राप्त गर्न पाउनुपर्ने सूचनासम्बन्धी मौलिक हकको समेत हनन् हुने हुँदा एकजना महिलाको मृत्यु भएको संवेदनशील विषयमा अनर्गल रूपमा सामाजिक सद्भाव भड्काउने उद्देश्यले दुस्प्रचार गरी असंवेदनशीलताको हद नाघेको भन्दै त्यस्ता मिडियामाथि समेत निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

घटनास्थल क्षेत्रको सो समयको सिसीटिभी फुटेज प्रहरीले अनुसन्धान गरिरहेको र सो रात त्यस्तो ठेला लिई गई कोही कसैले मृतकको लास नफालेको अनुसन्धानबाट देखिएको मोरङ प्रहरीका प्रवक्ता डिएपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

सिसीटिभी फुटेजमा देखिएका मानिसहरू सो क्षेत्रमा तरकारी ओसारपसार गर्ने ज्यालादारी मजदुरहरू रहेको, निजहरू आफ्नो दैनिक रोजिरोटीको क्रममा तरकारी लैजाने ल्याउने कामको सिलसिलामा करिब ५ बजेको समयमा सो स्थानमा गएको हालसम्मको अनुसन्धानको क्रममा खुलेको उनले बताए । सो घटना सम्बन्धमा प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले बताए ।