पथरीशनिश्चरे/ पथरीशनिश्चरेमा एकपछि अर्को शङ्कास्पद मृत्यु हुन थालेपछि सुरक्षा व्यवस्थामाथि नगरबासीले प्रश्न तेस्र्याएका छन् ।
वैशाख ७ गते आफ्नै कोठाअगाडि नग्न अवस्थामा रूपा भनिने रिना बस्नेत मृत भेटिएपछि पथरीबासीले प्रहरी प्रशासनमाथि प्रश्न तेस्र्याउँदै सुरक्षा मजबुत गर्न माग गरेका छन् । प्रहरीले रिनाको मृत्युलाई ‘आत्महत्या’ मान्दै आएको छ । नगरबासीले भने यो घटनालाई ‘हत्या’ को संज्ञा दिइरहेका छन् ।
प्रारम्भिक पोष्टमार्टमले पनि रिनाको मृत्युमा हत्या हुन सक्ने यथेष्ट कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । रिना मृत्यु प्रकरणले प्रदेश १ को प्रदेशसभा बैठक पनि तातेको छ । बैठकको शून्य समयमा सांसद् सुयर्माराज राईले पथरी असुरक्षित भएकाले तत्काल शान्तिसुरक्षाका लागि ‘डिएसपी’ को नेतृत्व आवश्यक रहेको औंल्याए ।
सत्य–तथ्य छानबिन गर्न माग
पथरीशनिश्चरेमा शृङ्खलाबद्ध आपराधिक घटना वृद्धि भएको भन्दै सत्य–तथ्य छानबिन साथै डिएसपीको दरबन्दी कायम गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापा बादललाई बिहीबार नगर प्रमुख दिलिपकुमार राईले ज्ञापन–पत्र बुझाएका छन् । प्रदेश कानून मन्त्री हिक्मतबहादुर कार्कीले अस्थायी रूपमा डिएसपीको दरबन्दी व्यवस्थापनको प्रक्रिया अगाडि बढाइएको जनाए । रिनाभन्दा अगाडि षडराज तामाङको पनि रहस्यमय मृत्यु भएको थियो । उक्त घटनाको पनि प्रहरीले हालसम्म तथ्यगत प्रमाण फेला पार्न सकेको छैन ।
हटाइयो इन्स्पेक्टर
इलाका प्रहरी कार्यालय पथरी प्रमुख इन्स्पेक्टर कमल बजगाईंलाई अन्यत्र सरुवा गरिएको छ । चुस्त–दुरुस्त अनुसन्धान नगरेको भन्दै पथरीशनिश्चरेबाट उनी हटाइएका हुन् । उनको स्थानमा इन्स्पेक्टर सुवास भट्टराईलाई जिम्मेवारी दिएको छ । जिल्ला प्रहरी कार्यालयले डिएसपी नवराज ढुङ्गानालाई रिना मृत्यु प्रकरणको अनुसन्धानको जिम्मेवारी दिएको छ । पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट आइसकेको छ भने भिसेरालगायतको रिपोर्ट आउन बाँकी छ । रिनाको पोष्टमार्टममा उल्लेख्य सफलता हात नपरेको उनले बताए ।
अन्यत्र हत्या गरी ल्याएको भन्ने कुरातर्फ पनि हालको रिपोर्टले नखुलेको उनले बताए । सीसी क्यामेराको फुटेजमा राति ठेलामा केही शङ्कास्पद वस्तु लगेको जस्तो देखिएकाले उक्त फुटेजमा देखिएका सम्बन्धित व्यक्तिलाई पनि अनुसन्धानको दायरामा ल्याइसकेको उनले बताए । ‘हालसम्मको पोष्टमार्टम रिपोर्ट र अनुसन्धानको क्रममा अन्यत्र मारेर सडकमा ल्याएको पुष्टि भएको छैन । जहाँ शव भेटियो, त्यहीँ नै मरेको बुझिन्छ । अझै सूक्ष्म अनुसन्धानले केही दिनमा तथ्य पत्ता लाग्छ’ –उनले भने । रिनाका प्रेमी भनिएका कमल नेपाललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको छ ।