भद्रपुर झापाका वन क्षेत्र अतिक्रमणको चपेटामा परेका छन् । समयमा नै यसको रोकथाम नगर्ने हो भने हरियो वन नेपालको धन भन्ने नारा इतिहासमा मात्र सिमित हुने पक्का छ । धार्मिक, पर्यटन, खेल मैदान,वस्ती,पाटी पौवा,कपरथान निर्माण लगायतले अतिक्रमण गरेको पाइएको छ ।
जिल्लामा १८ हजार हेक्टर भन्दा माथि वन क्षेत्र छ । हालसम्म अनुमानित १५सय हेक्टर जमिन अतिक्रमणमा परेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । रतुवामाई वृक्षारोपण आयोजना, रङ्गेडाँडा व्यवसायी कवुलियति, हचुमासा सामुदायिक,बर्ने चिया विकास, हम्सेदुम्से भूटानी शरणार्थी, प्रगति सामुदायिक वन लगायतमा अतिक्रमण रहेको सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले बताए ।
अतिक्रमणमा परेका वन क्षेत्र पुरानो रहेको उनले जनाए । अतिक्रमण जग्गामध्ये प्रगति सामुदायिक वनमा ३८ परिवारको पुरानो वस्ती छ । ती परिवारले मात्र ३४ हेक्टर जमिन ओगटेको उनले जनाए । यो परिवार पुरानो भएको उनको भनाइ छ । रतुवामाई वृक्षारोपण आयोजनामा २१ ओटा खेल मैदानसँगै ५३ हेक्टर पुरानो अतिक्रमण रहेको आयोजना प्रमुख खेमलाल विश्वकर्माले बताए । प्रगति वनमा रहेका परिवार वि.सं. २०३६ सालबाट वसोवास गर्दै आइरहेका समितिका अध्यक्ष विकास निरौलाले बताए । तत्कालिन पञ्चायत कालमा नै विभिन्न प्रकृयाबाट कागज पत्र वनाइसकेको उनको भनाइ छ ।
वस्तीबाट कर लिनु पर्ने वा धनिपूर्जा दिलाउनु पर्ने डिभिजन प्रमुख विष्णुलाल घिमिरे बताउँछन् । राज्यले ठोस नीति अपनाएर यस विषयमा निश्कर्ष ल्याउनु पर्ने घिमिरेको भनाइ छ । नयाँ अतिक्रमण कुनै हालतमा पनि हुन नदिने उनले दाबी गरे ।