धनकुटा/ जिल्ला सदरमुकाम धनकुटा बजारमा प्रधान कार्यालय रहेको एकमात्र विकास बैङ्क काबेली विकास बैङ्क मर्ज हुने भएको छ । शुक्रबार बसेको काबेली विकास बैङ्कको विशेष साधारण सभाले विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैङ्कसँग मर्जमा जाने निर्णय गरेको हो । मर्ज भएपछि आगामी आर्थिक वर्ष साउन महिनादेखि दुवै बैङ्कको एकीकृत कारोबार हुने काबेली विकास बैङ्क धनकुटाले जनाएको छ ।
 
सप्तकोशी डेभलपमेन्ट बैङ्कको पनि शुक्रबार नै विराटनगरमा भएको विशेष साधारण सभाले मर्जमा जाने निर्णय गरेको काबेली विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत शैलेन्द्रकुमार वादे श्रेष्ठले जानकारी दिएका छन् । सम्पन्न विशेष साधारण सभामा बैङ्कका अध्यक्ष गोपालप्रसाद काफ्लेले काबेली विकास बैङ्क र सप्तकोशी डेभलपमेन्ट बैङ्कसँग मर्जमा जाने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव सर्वसम्मत रूपमा साधारणसभाले पारित गरेको छ ।
 
नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीतिअनुसार विकास बैङ्कको चुक्ता पुँजी ५० करोडको हुनुपर्ने भएकाले बाध्यताले मर्जमा जानु परेको अध्यक्ष काफ्लेले जानकारी दिए । काबेलीको हालको पुँजी २८ करोडको हाराहारीमा मात्र भएकाले नेपाल राष्ट्र बैङ्कको एकातिर रकम नपुग र अर्कातिर बैङ्क तथा वित्तीय संस्थाको कार्यक्षेत्र जिल्लास्तरीय नभई प्रादेशिकस्तरको बनाउनु पर्ने भएकाले बाध्यताले मर्ज हुन लागेको काफ्लेले बताए ।
 
बैङ्क मर्ज भएपछि ७ जिल्लामा शाखा रहने बताइएको छ । १ केन्द्रीय कार्यालय, १ कर्पोरेट कार्यालय, ७ जिल्लामा वित्तीय कारोबार गर्ने गरी ४२ वटा शाखा कार्यालयसहित २६ वटा कार्यालयबाट वित्तीय सेवा प्रवाह हुने जानकारी दिए । उनले काबेली बैङ्क साविक बस्दा कोही निक्षेपकर्ताले ऋण मागे भने ५ करोडभन्दा बढी दिने अवस्था थिएन, तर अब एक जनालाई २० करोडसम्म ऋण दिन सकिने बताएका छन् । बैङ्कको अहिलेसम्म ६४ करोड चुक्ता पुँजी थियो भने अब मर्ज भएपछि ८० करोड पुग्ने सदस्य चेम्जोङले बताए ।