बेलबारी । सरकारले पर्याप्त मात्रामा खादमल (युरिया) खरिद गर्न नसक्दा बजारमा युरिया मलको बजारमा हाहाकार मच्चिएको छ ।
बजारमा मल नपाएपछि कृषकहरू चिन्तित बनेका छन् । विशेष गरेर उन्नत जातको मकैबालीका लागि चाहिने युरियाको अभाव भएपछि बाली बिग्रिने सम्भावना बढेको छ । कृषकहरूलाई यो बेलामा मकै, धान र चियावालीका लागि मल चाहिन्छ । बजारमा मल अभाव भएपछि कृषकहरू अहिले भौतारिरहेका छन् । सरकारले मल बीउ निःशुल्क दिने कार्यक्रम ल्याउनु कता हो कता पैसा तिर्छु भन्दा पनि चाहिएको बेला मल नपाएको बेलबारीका स्थानीय कृषक श्यामलाल तामाङले बताए ।
नेपाल सरकारको पूर्ण स्वामिŒवमा रहेको कृषि सामाग्री कम्पनीले किसानहरूको माग बमोजिम कृषि मन्त्रालयलाई ७ लाख टन युरिया मल आपूर्ति गर्न माग गरेको थियो । तर कृषकहरूको माग र आवश्यत्तालाई वेवास्ता गर्दै ४० प्रतिशत अर्थात् करिब ३ लाख टन मात्र युरिया मल आयात गरेपछि अहिले बजारमा मलको हाहाकार भएको हो । आर्थिक वर्ष २०७५÷७६ मा करिब ६ अर्ब कृषि सामाग्री कम्पनीले ल्याउने गरी सरकारले बजेट विनियोजन गरेको थियो । त्यसमध्ये साल्ट ट्रेडिङले ३० प्रतिशत ल्याउने र ७० प्रतिशत कम्पनीले आयात गर्नुपर्नेमा कम्पनीले ल्याएको मल अहिले सकिएको कृषि सामाग्री कम्पनी क्षेत्रीय कार्यालय विराटनगरका शाखा अधिकृत केदारप्रसाद ढकालले बताए ।
बजारमा खादमलको अभाव भएपछि सङ्घीय सरकारले भर्खरै ३ अर्ब विनियोजन गरेको छ । उक्त बजेटको ७० प्रतिशत मल आयात हुने भएको छ । अर्थात् ५५ हजार टन युरिया मलमध्ये पहिलो सम्झौताअनुसार जेठको दोस्रो साता ३० हजार टन मल आउने भएको छ । र, बाँकी २५ हजार टन युरिया कुनै वाधा अवरोध नभएमा असारको दोस्रो सातामा आउने ढकालले बताए । तर डिएपीको हकमा भने अझै ढिलो हुने बताए । कम्पनीसँग अहिले डिएपीको मौज्दात कम भएको हुँदा यसपटक धान सिजनमा डिएपीको पनि हाहाकार हुने देखिएको उनले बताए । अहिलेसम्म डिएपी खरिदका लागि प्रक्रिया नगएकाले ‘ग्लोवल टेण्डर’ पूरा गर्दा समय लाग्ने भएकाले धानको सिजनमा डिएपी मल पनि यस्तै चरम अभावको सामाना कृषकले गर्नुपर्ने देखिएको छ । कृषि सामाग्री कम्पनी क्षेत्रीय कार्यालयले जिल्लामा रहेका सहकारीमार्फत् खादमल बिक्री गर्दै आएको छ ।